
काठमाडौँ । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्ने भएको छ। राष्ट्रियसभाको बैठक बिहान १०ः१५ बजे र प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे सुरु हुनेछ।
प्रतिनिधिसभामा कानुनमन्त्री सोविता गौतमले नेपाल कानुन आयोगको संशोधन विधेयक प्रस्तुत गर्नेछिन् भने मेलमिलापसम्बन्धी संशोधन विधेयकमाथि विचार गर्ने प्रस्ताव पनि पेस गर्नेछिन्।
त्यस्तै, राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका समुद्री क्षेत्रमा जैविक विविधताको संरक्षण तथा दिगो प्रयोगसम्बन्धी सम्झौता सदनमा पेस हुनेछ। बालश्रमसम्बन्धी विधेयकलाई सम्बन्धित समितिमा पठाउने प्रस्ताव पनि बैठकमा प्रस्तुत हुनेछ।
उता राष्ट्रियसभामा प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयकलाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउने प्रस्ताव राख्ने कार्यसूची रहेको छ।

