
काभ्रे जिल्लामा पछिल्लो समय व्यवसाय, उद्योग, पर्यटन तथा सेवा क्षेत्रको विस्तारसँगै रोजगारीका अवसरहरू पनि क्रमशः बढ्दै गएका छन्। नेपालको नयाँ श्रम ऐन, कम्पनी ऐन, सामाजिक सुरक्षा ऐनलगायत प्रचलित विभिन्न कानुनको दायराभित्र रहेर व्यवसाय सञ्चालन गर्ने प्रयास भइरहेका छन्। काभ्रेका १३ वटा स्थानीय तहमा साना तथा ठूला उद्योग, होटल, रिसोर्ट, होमस्टे, व्यापारिक प्रतिष्ठान तथा विभिन्न सेवा क्षेत्रका व्यवसायहरू स्थापना हुँदै अगाडि बढिरहेका छन्।
धुलिखेल, नगरकोट, बल्थली, नमोबुद्धलगायतका पर्यटकीय क्षेत्रमा स्तरीय होटल तथा रिसोर्टहरू सञ्चालनमा छन्। जिल्लाका विभिन्न स्थानमा चर्चित होमस्टेहरू सञ्चालन भइरहेका छन् भने धार्मिक तथा सांस्कृतिक दृष्टिले महत्वपूर्ण मठमन्दिर, गुम्बा तथा अन्य पर्यटकीय स्थलहरूले पनि जिल्लाको आर्थिक गतिविधिलाई चलायमान बनाइरहेका छन्। काभ्रे हुँदै दैनिक हजारौँ सवारीसाधन आवतजावत गर्ने भएकाले होटल, रेस्टुरेन्ट, यातायात, पर्यटन, कृषि, निर्माण तथा सेवा क्षेत्रमा व्यवसाय विस्तारको ठूलो सम्भावना रहेको छ।
तर व्यवसायको विस्तारसँगै श्रमिक व्यवस्थापन र श्रमसम्बन्धी विषयमा अझै धेरै चुनौतीहरू देखिन्छन्। जिल्लामा सञ्चालित कतिपय व्यवसायहरू व्यवस्थित रूपमा दर्ता तथा अभिलेखीकरण हुन नसक्दा कुन क्षेत्रमा कति व्यवसाय छन्, कति श्रमिक कार्यरत छन्, उनीहरूको रोजगारीको अवस्था कस्तो छ र उनीहरूले कानुनबमोजिम पाउनुपर्ने सेवा–सुविधा प्राप्त गरिरहेका छन् कि छैनन् भन्ने विषयमा यथार्थ र एकीकृत तथ्याङ्क प्राप्त गर्न कठिन भइरहेको छ। यो अवस्था राज्य, स्थानीय तह, ट्रेड युनियन तथा व्यवसायी सबैका लागि चुनौतीको विषय बनेको छ।
विशेषगरी विभिन्न क्षेत्रका श्रमिकहरू लामो समयसम्म एउटै संस्थामा स्थायी रूपमा काम गर्ने अवस्था कमजोर देखिन्छ। कतिपय श्रमिक केही दिन, केही महिना वा केही वर्ष काम गरेपछि अनुभव र सीप हासिल गरी वैदेशिक रोजगारीतर्फ जाने गरेका छन्। यसले एकातर्फ दक्ष जनशक्ति पलायन हुने अवस्था सिर्जना गरेको छ भने अर्कोतर्फ स्थानीय व्यवसायीहरूलाई दक्ष तथा अनुभवी श्रमिक टिकाइराख्न कठिनाइ भइरहेको छ।
श्रमिकलाई केवल श्रम गर्ने व्यक्तिका रूपमा मात्र होइन, व्यवसाय र अर्थतन्त्रको महत्वपूर्ण साझेदारका रूपमा हेर्न आवश्यक छ। श्रमिकलाई उचित पारिश्रमिक, सुरक्षित कार्यस्थल, सामाजिक सुरक्षा, बिदा, बीमा, सीप विकास तथा कानुनले तोकेका अन्य सेवा–सुविधा उपलब्ध गराउन सकिएमा श्रमिकको उत्पादकत्व र व्यवसायप्रतिको अपनत्व दुवै बढ्न सक्छ।
यसका लागि स्थानीय तह, व्यवसायी, ट्रेड युनियन र श्रमिकबीच प्रभावकारी समन्वय आवश्यक छ। जिल्लामा रहेका व्यवसाय तथा श्रमिकको वास्तविक तथ्याङ्क संकलन गरी डिजिटल अभिलेख तयार गर्ने, व्यवसायलाई कानुनी प्रक्रियामा ल्याउने, श्रम कानुनको प्रभावकारी कार्यान्वयन गर्ने तथा श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा समेट्ने कामलाई प्राथमिकता दिनुपर्छ।
त्यसैगरी स्थानीय स्तरमै सीप विकास तथा व्यावसायिक तालिम सञ्चालन गरी दक्ष जनशक्ति उत्पादन गर्ने र दक्ष श्रमिकलाई जिल्लामै रोजगारी तथा सम्मानजनक पारिश्रमिकको अवसर सिर्जना गर्ने वातावरण बनाउन आवश्यक छ। व्यवसायीले पनि श्रमिकलाई लागतका रूपमा मात्र नभई व्यवसायको विकासका सहयात्रीका रूपमा स्वीकार गर्नुपर्छ।
काभ्रेमा पर्यटन, होटल, कृषि, निर्माण, यातायात, सेवा तथा साना–ठूला उद्योगको सम्भावना प्रशस्त छ। यी सम्भावनालाई व्यवस्थित व्यवसाय, दक्ष श्रमशक्ति र प्रभावकारी श्रम सम्बन्धसँग जोड्न सकियो भने जिल्लामै रोजगारी सिर्जना गर्दै वैदेशिक रोजगारीका लागि हुने जनशक्ति पलायनलाई समेत केही हदसम्म न्यूनीकरण गर्न सकिन्छ।
अन्ततः काभ्रे जिल्लाको आर्थिक विकासका लागि व्यवसायीको लगानी, श्रमिकको मेहनत, राज्यको नीति तथा स्थानीय तहको प्रभावकारी व्यवस्थापनबीच सहकार्य अपरिहार्य छ। श्रमिकको सम्मान, व्यवसायको संरक्षण र कानुनको प्रभावकारी कार्यान्वयनलाई सँगसँगै अघि बढाउन सके मात्र काभ्रेलाई व्यवस्थित, सुरक्षित, मर्यादित र रोजगारमुखी व्यवसायिक जिल्लाका रूपमा विकास गर्न सकिन्छ। यसका लागि राज्य, ट्रेड युनियन, व्यवसायी र स्वयं श्रमिक सबै पक्षको साझा जिम्मेवारी र प्रतिबद्धता आवश्यक छ।

