
बनेपा । जीवनमा आइपर्ने चुनौतीलाई अवसरमा बदल्दै अघि बढ्ने व्यक्तिहरूको कथा आफैँमा प्रेरणादायी हुन्छ। यस्तै प्रेरणादायी यात्राको उदाहरण बन्नुभएको छ बेली मायाँ लामा। सहकारी क्षेत्रमा लामो समय काम गरेर अनुभव हासिल गर्नुभएकी लामा अहिले होटल तथा आतिथ्य व्यवसायमा सक्रिय हुनुहुन्छ। बनेपा–धनेश्वरस्थित एबीएम चोकमा रहेको ‘ढिडो दरबार’ को व्यवस्थापन सम्हाल्दै उहाँ नेपाली मौलिक खानाको स्वाद, संस्कृति र पहिचानलाई व्यवसायसँग जोडेर अघि बढिरहनुभएको छ।
विसं २०५० साल असार ७ गते काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–५, पोखरी नारायणमा जन्मिनुभएकी लामाको बाल्यकाल भने सहज थिएन। सानै उमेरमा आमालाई गुमाउनुभएकी उहाँ हजुरबुबा, हजुरआमा, बुबा र दिदीको संरक्षण तथा मायामा हुर्किनुभयो। पारिवारिक साथ, संघर्ष र आत्मविश्वासले उहाँलाई जीवनका विभिन्न चरणमा अघि बढ्ने प्रेरणा दियो।
विद्यालय तहको अध्ययन पूरा गरेपछि बनेपा आउनुभएकी लामाले काठमाडौंस्थित कान्तिपुर अस्पतालबाट आफ्नो व्यावसायिक यात्रा सुरु गर्नुभयो। त्यसपछि बनेपाका विभिन्न सहकारी संस्थामा सञ्चालक तथा कार्यालय सहायकका रूपमा काम गर्दै उहाँले सहकारी व्यवस्थापन र संस्थागत कामको राम्रो अनुभव हासिल गर्नुभयो।
सहकारी क्षेत्रसँगै विभिन्न व्यवसायमा समेत संलग्न हुँदै आउनुभएकी लामाले समयक्रममा नयाँ क्षेत्रमा केही फरक गर्ने सोच बनाउनुभयो। परिवार, अग्रज तथा भाइको सहयोग र हौसलाले उहाँ होटल व्यवसायमा प्रवेश गर्नुभयो। यही सोचको परिणामस्वरूप बनेपा–धनेश्वर एबीएम चोकमा ढिडो दरबार सञ्चालनमा आएको हो।
नेपाली मौलिक खानालाई प्राथमिकता
ढिडो दरबारको मुख्य उद्देश्य नेपाली मौलिक खानालाई नयाँ पुस्तासहित सबै वर्गका ग्राहकसम्म पुर्याउनु रहेको लामा बताउनुहुन्छ। मकै, कोदो र फापरको ढिडोदेखि स्थानीय स्वादका विभिन्न परिकारसम्मलाई प्राथमिकतामा राखिएको उहाँको भनाइ छ।
“ढिडो दरबारलाई हामी केवल खाना खाने ठाउँका रूपमा मात्र विकास गर्न चाहँदैनौँ। नेपाली मौलिक खानाको स्वाद, संस्कृति र पहिचानलाई समेत प्रवर्द्धन गर्ने हाम्रो उद्देश्य हो,” उहाँले भन्नुभयो।
परम्परागत नेपाली खानालाई आधुनिक ग्राहकको रुचिअनुसार प्रस्तुत गर्दै स्वच्छता, स्वाद र गुणस्तरलाई विशेष महत्व दिइएको उहाँले बताउनुभयो। आगोमा सेकाएको गहुँको रोटी, पोलेको टमाटरको अचार, सुकुटीलगायतका परिकारले ग्राहकलाई मौलिक नेपाली स्वादको अनुभव दिने उहाँको विश्वास छ।
व्यवसायसँगै नयाँ अनुभव
होटल व्यवसाय उहाँका लागि नयाँ क्षेत्र भएकाले सुरुवाती चरणमा विभिन्न चुनौतीको सामना गर्नुपरेको उहाँ बताउनुहुन्छ। ग्राहकको रुचि बुझ्नेदेखि कर्मचारी व्यवस्थापन, खानाको गुणस्तर, सरसफाइ र दैनिक सञ्चालनसम्मका विषयमा निरन्तर सिक्दै अघि बढ्नुपरेको उहाँको अनुभव छ।
“नयाँ व्यवसाय सुरु गर्दा धेरै कुरा आफैँले सिक्नुपर्छ। चुनौतीहरू आउँछन्, तर हरेक चुनौतीले केही न केही नयाँ कुरा सिकाउँछ,” उहाँले भन्नुभयो।
उहाँका अनुसार होटल व्यवसायमा ग्राहकको अपेक्षा बुझ्नु सबैभन्दा महत्वपूर्ण पक्ष हो। ग्राहकले खाना, सेवा, वातावरण वा मूल्यका आधारमा आफ्नो धारणा बनाउने भएकाले हरेक पक्षमा समान ध्यान दिन आवश्यक हुन्छ।
ग्राहकको विश्वासलाई पहिलो प्राथमिकता
ढिडो दरबारमा ग्राहकको सन्तुष्टिलाई विशेष महत्व दिइएको लामा बताउनुहुन्छ। ग्राहकबाट प्राप्त सुझाव तथा गुनासोलाई व्यवसाय सुधारका लागि महत्वपूर्ण आधारका रूपमा लिइने उहाँको भनाइ छ।
“ग्राहकको गुनासोलाई हामी समस्या मात्र मान्दैनौँ। त्यसले हाम्रो कमजोरी देखाइदिन्छ र सुधार गर्ने अवसर दिन्छ,” उहाँले भन्नुभयो।
ग्राहकको कुरा ध्यानपूर्वक सुन्ने, समस्या पहिचान गर्ने र सम्भव भएसम्म तत्काल समाधान गर्ने अभ्यास रहेको उहाँले बताउनुभयो। आफ्नो कमजोरी भए स्वीकार गरेर सुधार गर्ने संस्कारले व्यवसायमा विश्वास बढाउने उहाँको बुझाइ छ।
कर्मचारी पनि व्यवसायको परिवार
ढिडो दरबारमा हाल ९ जनाले प्रत्यक्ष रोजगारी पाएका छन्। स्थानीय स्तरमा रोजगारी सिर्जना गर्ने उद्देश्य रहेको बताउँदै लामाले व्यवसाय विस्तारसँगै थप रोजगारीका अवसर सिर्जना गर्ने योजना रहेको जानकारी दिनुभयो।
उहाँ कर्मचारीलाई व्यवसाय सञ्चालन गर्ने जनशक्ति मात्र नभई संस्थाको महत्वपूर्ण हिस्सा मान्नुहुन्छ। कामको उचित बाँडफाँड, टिमवर्क र आपसी समन्वयलाई प्राथमिकता दिइने उहाँले बताउनुभयो।
अफ–सिजनलाई पनि कर्मचारीको क्षमता विकास, तालिम, सेवा सुधार तथा नयाँ परिकारबारे छलफल गर्ने अवसरका रूपमा उपयोग गर्ने गरिएको उहाँको भनाइ छ।
प्रविधिसँगै व्यवसाय विस्तारको योजना
समयअनुसार प्रविधिको प्रयोगलाई पनि प्राथमिकता दिइने लामाले बताउनुभयो। आगामी दिनमा डिजिटल प्रचार–प्रसारलाई थप व्यवस्थित बनाउँदै अनलाइन अर्डर तथा डेलिभरी सेवा विस्तार गर्ने योजना रहेको उहाँले बताउनुभयो।
ग्राहकको माग र रुचिअनुसार थप मौलिक नेपाली परिकार ल्याउने, परिवार तथा समूहका लागि विशेष प्याकेज तयार गर्ने र ढिडो दरबारलाई नेपाली खानाको आकर्षक गन्तव्य बनाउने उहाँको लक्ष्य छ।
“प्रतिस्पर्धा व्यवसायका लागि चुनौती मात्र होइन, अझ राम्रो बन्ने प्रेरणा पनि हो। हामी सेवा र गुणस्तरमा निरन्तर सुधार गर्दै अघि बढ्न चाहन्छौँ,” उहाँले भन्नुभयो।
स्थानीय उत्पादनलाई बजारसँग जोड्ने प्रयास
ढिडो दरबारको अर्को महत्वपूर्ण पक्ष स्थानीय उत्पादनको प्रयोग र प्रवर्द्धन रहेको लामाको भनाइ छ। मकै, कोदो, फापरलगायतका स्थानीय उत्पादनलाई होटल व्यवसायसँग जोडेर किसानको उत्पादनलाई बजार उपलब्ध गराउने प्रयास गरिने उहाँले बताउनुभयो।
“स्थानीय उत्पादनको प्रयोग बढाउन सके किसानलाई पनि फाइदा हुन्छ र व्यवसायलाई पनि मौलिकता दिन सकिन्छ,” उहाँले भन्नुभयो।
स्थानीय उत्पादन, रोजगारी र नेपाली मौलिक खानाको प्रवर्द्धनमार्फत समुदायसँग जोडिएर अघि बढ्ने आफ्नो योजना रहेको उहाँले बताउनुभयो।
महिलाका लागि आत्मनिर्भरता महत्वपूर्ण
जीवनका विभिन्न संघर्ष पार गर्दै व्यवसायमा सक्रिय हुनुभएकी लामा महिलाका लागि आत्मनिर्भरता महत्वपूर्ण रहेको बताउनुहुन्छ।
मेहनत, आत्मविश्वास र इच्छाशक्तिलाई सफलताको आधार मान्ने उहाँले महिलाहरूले अवसर खोज्दै आफ्नो क्षमता र सीपलाई व्यवसाय तथा उद्यमसँग जोड्नुपर्ने धारणा राख्नुभयो।
सहकारी क्षेत्रबाट प्राप्त अनुभव र अहिले होटल व्यवसायमा हासिल भइरहेको नयाँ सिकाइलाई आफ्नो यात्राको महत्वपूर्ण उपलब्धिका रूपमा लिनुभएकी लामा आगामी दिनमा ढिडो दरबारलाई अझ व्यवस्थित र सफल व्यवसायका रूपमा स्थापित गर्ने लक्ष्यमा हुनुहुन्छ।
मौलिक स्वादको गन्तव्य बनाउने सपना
बेली मायाँ लामाको यात्रा केवल एउटा व्यवसाय सञ्चालनको कथा मात्र होइन, अनुभव र संघर्षलाई नयाँ सम्भावनामा बदल्ने प्रयास पनि हो। विगतको अनुभवलाई आधार बनाउँदै उहाँ अहिले नेपाली मौलिक खानाको प्रवर्द्धनसँगै स्थानीय उत्पादन र रोजगारी सिर्जनालाई जोडेर आफ्नो व्यवसाय अघि बढाइरहनुभएको छ।
“ढिडो दरबारमा आउने प्रत्येक ग्राहकले स्वादसँगै आत्मीयता र नेपालीपनको अनुभूति गर्न सकून् भन्ने हाम्रो चाहना हो,” उहाँले भन्नुभयो।
ग्राहक, शुभेच्छुक तथा साथीभाइको माया र विश्वासलाई व्यवसायको सबैभन्दा ठूलो शक्ति मान्दै उहाँले ढिडो दरबारलाई नेपाली मौलिक खानाको विश्वसनीय गन्तव्य बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

