
काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिका–८ लुभुको नरकट्टेमा ‘अन टेस्ट’ हायस घरको गेटमा ठोक्किएर दुर्घटना हुँदा चारजना घाइते भएका छन्। घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
नम्बर प्लेट नलिएको हायस अनियन्त्रित भई पहिले घरको गेटमा ठोक्किएको र त्यसपछि गेटछेउमा पार्किङ गरिएको बा१८च ९२८८ नम्बरको कारमा समेत ठोक्किएको प्रहरीले जनाएको छ।
दुर्घटनामा चालक २६ वर्षीय अखिल राजथला, २५ वर्षीय आशिष महर्जन, १८ वर्षीया एलिसा लामा र २६ वर्षीय राज महर्जन घाइते भएका छन्। राजथला र राज महर्जनको अवस्था गम्भीर रहेको बताइएको छ।
घाइतेहरूको ललितपुरस्थित बीएन्डबी र किस्ट अस्पतालमा उपचार भइरहेको छ। हायसमा चारजना मात्रै सवार रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

