
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमाथि कुनै पनि प्रकारको राजनीतिक हस्तक्षेप हुन नदिने स्पष्ट पार्नुभएको छ।
राज्य व्यवस्था तथा सुशासन समितिको आज बसेको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीसँग भएको छलफलका क्रममा उहाँले आयोगले बिना पूर्वाग्रह, निष्पक्ष र जिम्मेवार ढंगले काम गर्दै इतिहास रच्नुपर्ने बताउनुभयो।
सभापति लामिछानेले भ्रष्टाचारसम्बन्धी अनुसन्धान तथा अभियोजन प्रक्रियालाई थप व्यवस्थित, तथ्यमा आधारित र वस्तुनिष्ठ बनाउन विशेष ध्यान दिन आग्रह गर्नुभयो। अनुसन्धानको गुणस्तर र निष्पक्षताले नागरिकको न्यायप्रतिको विश्वास बलियो बनाउने उहाँको धारणा थियो।
उहाँले कुनै राष्ट्रसेवक वा जनप्रतिनिधिलाई अदालतमा मुद्दा पुगेकै आधारमा पद निलम्बन हुने र पछि सफाइ पाए पनि त्यस अवधिमा व्यक्तिको व्यक्तिगत, पारिवारिक तथा व्यावसायिक जीवनमा गम्भीर असर पर्ने विषय उठाउनुभयो। यस्तो अवस्थामा पीडितले भोगेको क्षतिको परिपूरण कसरी गर्न सकिन्छ भन्ने प्रश्नसमेत उहाँले समितिमा राख्नुभयो।
सभापति लामिछानेले अख्तियारका पदाधिकारीलाई अनुसन्धान र अभियोजनमा अझ बढी मेहनत, निष्पक्षता र जिम्मेवारीका साथ काम गर्न आग्रह गर्नुभएको छ।

