बिहिबार, भाद्र १८, २०८३
ग्यासको विकल्पमा विद्युतीय चुलो प्रवर्द्धन गर्न सांसदहरूको जोड

काठमाडौं । मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा सांसदहरूले खाना पकाउने ग्यासको विकल्पका रूपमा विद्युतीय चुलो प्रवर्द्धन गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

आकस्मिक समयमा बोल्दै सांसद श्रीराम न्यौपानेले वातावरण प्रदूषण नियन्त्रणसँगै ग्यासको आयात घटाउन विद्युतीय चुलोको प्रयोग बढाउनुपर्ने बताए।

बैठकमा सांसदहरूले मनसुनजन्य विपद्का कारण विभिन्न सडकखण्ड अवरुद्ध हुँदा जनजीवन प्रभावित भएको विषय पनि उठाएका छन्। सांसद धनबहादुर बुढाले डोल्पामा पहिरोका कारण सडक अवरुद्ध हुँदा खाद्यान्न तथा निर्माण सामग्री ढुवानीमा समस्या भएको भन्दै प्रभावित नागरिकलाई तत्काल राहत र पुनःस्थापनाको व्यवस्था गर्न माग गरे।

त्यस्तै, सांसद प्रेमबहादुर बयकले बढ्दो सडक दुर्घटना नियन्त्रणका लागि सडक सुरक्षा नीति प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने बताए। सांसद प्रकाश पाठकले झापामा जङ्गली हात्तीका कारण स्थानीयवासी समस्यामा परेको भन्दै हात्ती व्यवस्थापनका लागि प्रभावकारी उपाय अपनाउन सरकारसँग आग्रह गरे।

सांसद पूर्णप्रसाद लिम्बूले सङ्खुवासभाको भोटखोला गाउँपालिकामा अविरल वर्षाका कारण विद्युत् सेवा प्रभावित भएको उल्लेख गर्दै स्थानीयवासी सौर्य ऊर्जामा निर्भर हुनुपरेको विषयमा सरकारको ध्यानाकर्षण गराए।

प्रकाशित: मंगलबार, भाद्र ०२, २०८३

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय