बुधबार, कार्तिक १२, २०८३
धुलिखेल–दाप्चा पुल सडक १० मिटर चौडा बनाइँदै

काभ्रे । बीपी राजमार्गको प्रवेशबिन्दु धुलिखेलदेखि नमोबुद्धको दाप्चा पुलसम्मको करिब २० किलोमिटर सडकखण्ड चौडा गरिने भएको छ। डिभिजन सडक कार्यालय भक्तपुरका अनुसार हाल औसत ५.५ मिटर चौडाइ रहेको मुख्य कालोपत्रे सडकलाई विस्तार गरी १० मिटर पुर्‍याइनेछ।

सडक विस्तारका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको छ। कार्यालय प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशका अनुसार प्रारम्भिक वातावरणीय परीक्षण (आईईई) प्रतिवेदन तयार गर्ने काम भइरहेको छ।

डीपीआरअनुसार सडक विस्तारमा करिब रु ३ अर्ब ७९ करोड ७८ लाख खर्च हुने अनुमान गरिएको छ। सडक कालोपत्रका लागि प्रतिकिलोमिटर करिब रु १८ करोड ५ लाख खर्च हुने कार्यालयले जनाएको छ।

सडकको दायाँबायाँ १५ मिटरसम्म बनेका संरचना तथा जग्गाको मुआब्जा वितरण भइसकेको योगेशले बताए। विस्तार गरिने सडकखण्ड धुलिखेल, पाँचखाल, पनौती र नमोबुद्ध नगरपालिकाभित्र पर्छ।

यसैबीच, विसं २०८१ असोजमा आएको बाढीपहिरोका कारण बीपी राजमार्गको भकुन्डेबेंसीदेखि नेपालथोकसम्म करिब ३० किलोमिटर सडक क्षतिग्रस्त भएको थियो। रोशी खोलामा अस्थायी डाइभर्सन निर्माण गरी यातायात सञ्चालन हुँदै आए पनि क्षतिग्रस्त क्षेत्रमा अहिले स्थायी पुनर्निर्माणको काम भइरहेको छ।

क्षतिग्रस्त राजमार्ग पुनर्निर्माणका लागि काभ्रेपलाञ्चोकतर्फ तीन र सिन्धुलीतर्फ एक गरी चार प्याकेजमा ठेक्का सम्झौता गरेर काम अघि बढाइएको छ। काभ्रेपलाञ्चोकतर्फका तीन सडकखण्डका लागि रु ७ अर्ब ५० करोड तथा सिन्धुलीतर्फको एक सडकखण्डका लागि रु १ अर्ब बराबरको स्रोत सुनिश्चित गरिएको छ।

जापान सरकारको अनुदान सहयोगमा आर्थिक वर्ष २०५३/५४ देखि निर्माण सुरु गरिएको १६० किलोमिटर लामो बीपी राजमार्ग (धुलिखेल–सिन्धुली–बर्दिबास) विसं २०७२ असार १८ गते जापान सरकारले नेपाल सरकारलाई औपचारिक रूपमा हस्तान्तरण गरेको थियो।

प्रकाशित: मंगलबार, भाद्र ०२, २०८३

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय