
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न आज २० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्ने भएको छ ।
राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले ‘१ महिने निक्षेप संकलन उपकरण’ मार्फत उक्त रकम संकलन गर्न लागेको हो। यसका लागि शुक्रबार दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल प्रणालीमार्फत आवेदन दिन सकिनेछ ।
निक्षेप संकलन उपकरणको अवधि ३५ दिनको हुनेछ भने साँवा तथा ब्याज आगामी असोज २ गते भुक्तानी गरिनेछ। यसको ब्याजदर बोलकबोलबाट निर्धारण हुनेछ र सहभागी संस्थाले बहु–ब्याजदरमा समेत आवेदन दिन सक्नेछन् ।
बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन्। प्रत्येक संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि कुल आह्वान रकमसम्म आवेदन दिन सक्नेछन् ।
सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्ने संस्थालाई प्राथमिकताका आधारमा रकम बाँडफाँड गरिनेछ। समान ब्याजदर प्रस्ताव भएमा प्रो–राटा आधारमा बाँडफाँड गरिने राष्ट्र बैंकले जनाएको छ ।
संकलित निक्षेपलाई अनिवार्य नगद मौज्दातमा गणना गर्न पाइने छैन। तर, वैधानिक तरलता अनुपात र तरलता अनुपातमा भने गणना गर्न सकिनेछ। साथै, राष्ट्र बैंकबाहेक अन्य बैंक तथा वित्तीय संस्थामा उक्त निक्षेपलाई धितोका रूपमा समेत प्रयोग गर्न सकिनेछ ।

