
काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालले मुलुकको प्रमुख प्रशासनिक केन्द्र ‘सिंहदरबार’को नाम परिवर्तन गर्नुपर्ने बताएका छन्।
आइतबार ललितपुरमा आयोजित कार्यक्रममा बोल्दै ढकालले राजनीतिक परिवर्तनपछि विभिन्न स्थान तथा विमानस्थलको नाम परिवर्तन भए पनि सिंहदरबारको नाम भने यथावत् रहेको भन्दै प्रश्न उठाए।
नेपालमा सिंह नै नभएको उल्लेख गर्दै उनले सिंहदरबारको नाम ‘अनामनगर दरबार’ राख्नुपर्ने धारणा राखे। प्रशासनिक केन्द्रको नामसँगै त्यहाँको कार्यशैली, सोच र परम्परागत प्रवृत्तिमा समेत परिवर्तन आवश्यक रहेको उनले बताए।
ढकालले प्रशासनिक केन्द्रको ‘मुहान’मै सुधार गर्दै पुरानो सोच, भाष्य र कार्यशैलीलाई परिवर्तन गर्नुपर्नेमा जोड दिए।

