
काठमाडौं । संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु भएको छ। सभापति गगनकुमार थापाको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक सुरु भएको हो।
बैठकमा आगामी १५औँ महाधिवेशनको तयारी, नियमावली तथा निर्वाचन निर्देशिका निर्माण, सदस्यता अद्यावधिक र वितरणलगायत विषयमा छलफल हुने केन्द्रीय सदस्य विजयबहादुर स्वाँरले जानकारी दिएका छन्।
यस्तै, महाधिवेशन तयारी समिति गठन, केन्द्रीय कार्यसम्पादन समितिका निर्णय अनुमोदन, तराई–मधेसका पछिल्ला घटनाक्रम, सरकारको १०० दिन, विपक्षीको भूमिका तथा प्रदेश सरकार र संगठनात्मक विषयमा पनि छलफल हुने बताइएको छ।
बैठकमा समसामयिक राजनीतिक मुद्दा तथा भ्रातृ संस्थाका विधानका विषयमा समेत छलफल हुने कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ।

