सिन्धुली । सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरस्थित मध्यपहाडी लोकमार्गबाट सुनकोशी नदीमा खसेको कारको खोजीका लागि गोताखोरसहितको उद्धार टोली परिचालन गरिएको छ।
सशस्त्र प्रहरीको विपद् व्यवस्थापन बेस खुर्कोटबाट प्रहरी निरीक्षक निरेन्द्र गुरुङको नेतृत्वमा गोताखोरसहितको टोली तथा नेपाल प्रहरीको टोली घटनास्थलमा खटिएको छ।
प्रहरीका अनुसार खोटाङबाट काठमाडौंतर्फ आउँदै गरेको कारलाई काठमाडौंबाट ओखलढुंगातर्फ जाँदै गरेको बागमती प्रदेश ०८–००१ ख ०१४४ नम्बरको बसले ठक्कर दिएपछि कार करिब ३० मिटर तल सुनकोशी नदीमा खसेको थियो।
दुर्घटनामा कारमा सवार सिन्धुलीको फिक्कल गाउँपालिका–५ निवासी पूर्णबहादुर तामाङ, गोलन्जोर गाउँपालिका–१ का २८ वर्षीय गणेश थापा तथा परिचय नखुलेका अर्का एक जना बेपत्ता भएका छन्। उनीहरूको खोजी तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ।

