राजविराज । सप्तरी जिल्ला प्रशासन कार्यालयले राजविराज नगरपालिका र बोदेबरसाइन नगरपालिकामा जारी कर्फ्यु हटाउँदै अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा लागू गरेको छ।
प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाद्वारा जारी सूचनाअनुसार जिल्ला सुरक्षा समितिको बैठकले उक्त निर्णय गरेको हो।
निषेधाज्ञा अवधिभर दुवै नगरपालिकामा पाँच जनाभन्दा बढी व्यक्ति भेला हुन, सभा, जुलुस, धर्ना तथा प्रदर्शन गर्न रोक लगाइएको छ। स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३क) बमोजिम जारी गरिएको आदेशको पालना गर्न प्रशासनले सर्वसाधारणलाई आग्रह गरेको छ।
राजविराज नगरपालिकामा खाँडो खोला, जमुनी–थलही, बसबिट्टी चोक र कोशी पश्चिम मूल नहरसम्मको क्षेत्र तथा बोदेबरसाइन नगरपालिकामा खडक पुल, प्रितमपुर चोक, नेगडा चोक र मानराजा चोकसम्मको क्षेत्रलाई निषेधाज्ञा क्षेत्र तोकिएको छ।
जिल्ला प्रशासन कार्यालयले शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्न सबैलाई संयमित रहन र प्रशासनको निर्णयमा सहयोग गर्न आग्रह गरेको छ।

