आइतबार, साउन १७, २०८३
पहिरो र बाढीका कारण देशका विभिन्न सडक अवरुद्ध : मेची राजमार्ग ठप्प

काठमाडौं। लगातारको वर्षासँगै बाढी, पहिरो तथा सडक कटानको जोखिम बढेपछि देशका विभिन्न राजमार्गमा सवारी सञ्चालन प्रभावित भएको छ। नेपाल प्रहरीले यात्रु तथा चालकलाई यात्रा अघि सडकको अवस्थाबारे जानकारी लिएर मात्रै यात्रा गर्न आग्रह गरेको छ।

काभ्रेपलाञ्चोक र सिन्धुली जोड्ने बिपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा प्रतिबन्ध लगाइएको छ।

यस्तै, कान्तिलोकपथमा पनि जोखिमका कारण बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालन रोकिएको छ।

उता, इलाम नगरपालिका–९ स्थित मेची राजमार्गमा लगातारको वर्षाले सडक हिलाम्मे बनेपछि सवारी आवागमन पूर्ण रूपमा बन्द भएको छ।

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित अरनिको राजमार्गको जिरोकिलो र कोदारी क्षेत्रमा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।

त्यसैगरी, दोलखाको तामाकोशी गाउँपालिका–५ किर्नेटारस्थित लामासाँघु–रामेछाप सडकखण्डमा सामाकोशी खोलाको बहावले सडक कटान गरेपछि उक्त सडकमा पनि यातायात पूर्ण रूपमा बन्द भएको छ।

रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेस्थित पासाङ ल्हामु सडकखण्डमा त्रिशूली नदीले सडक कटान गरेपछि सो सडक पनि पूर्ण रूपमा अवरुद्ध भएको छ।

यस्तै, गोरखाको धार्चे गाउँपालिका–३ अन्डरडाँडामा पहिरो खस्दा लार्के–बेनीघाट कच्ची सडकखण्डमा सवारी आवागमन पूर्ण रूपमा ठप्प भएको छ।

नेपाल प्रहरीले वर्षायाममा बाढी, पहिरो र सडक कटानको जोखिम उच्च रहेकाले यात्रा गर्नुअघि सम्बन्धित निकायबाट सडकको पछिल्लो अवस्थाबारे जानकारी लिन तथा आवश्यक सतर्कता अपनाउन सबै सर्वसाधारणलाई आग्रह गरेको छ।

प्रकाशित: आइतबार, साउन १७, २०८३

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय