काठमाडौँ । झापाको भद्रपुर नगरपालिका–४ मा हात्ती धपाउन लगाइएको नाङ्गो विद्युतीय तार छोएपछि करेन्ट लागेर ६५ वर्षीया सनज्योति लिम्बूको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बुधबार बिहान आफ्नै बारीमा करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको हो। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
यस्तै, मेचीनगर नगरपालिका–१० नागरडुब्बास्थित एक घरमा फ्रिजको तार सर्ट हुँदा आगलागी भएर करिब रु २ लाख ५० हजार बराबरको धनमाल क्षति भएको छ। आगलागीबाट फ्रिज, डाइनिङ टेबल, भाँडावर्तन, चामल, मिटर बक्सलगायत घरायसी सामग्री जलेर नष्ट भएका छन्।
स्थानीयवासी, नेपाल प्रहरी र मेचीनगर नगरपालिकाको दमकलको संयुक्त प्रयासमा आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ। घटनामा कुनै मानवीय वा चौपाया क्षति भएको छैन।

