काठमाडौँ । मोरङमा एक बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार साउन ३ गते बिहान सुनवर्षी नगरपालिकाकी एक बालिकालाई सिटी चालक १८ वर्षीय मोहम्मद अरमानले ललाइफकाइ रंगेली नगरपालिका–३ स्थित युमी क्याफेमा पुर्याएका थिए।
त्यसपछि साउन ४ गते राति करिब ९ बजे रंगेली नगरपालिका–७ का २० वर्षीय करण मण्डलले पीडित बालिकालाई रंगेली–७ स्थित संसारी मन्दिर नजिक रहेको ‘द नाइन्टीज’ क्याफेमा लगेको प्रहरीको भनाइ छ। सो स्थानमा मण्डलसहित १८ वर्षीय प्रियान्सु साह र १८ वर्षीय रितिक यादवले सामूहिक जबरजस्ती करणी गरेको भन्दै उजुरी परेको छ।
घटनाबारे उजुरी परेपछि जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको संयुक्त प्रहरी टोलीले साउन १० गते पाँचै जनालाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा रंगेली–३ आमतोला बस्ने १८ वर्षीय मोहम्मद अरमान, सुनवर्षी–९ बस्ने २१ वर्षीय सुमन कुमार साह, रंगेली–७ हर्दी टोलका २० वर्षीय करण मण्डल, रंगेली–७ का १८ वर्षीय प्रियान्सु साह र रंगेली–६ का १८ वर्षीय रितिक यादव रहेका छन्।


