काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो २४ घण्टामा देशभर ६२ वटा विपद्जन्य घटना भएका छन्। बाढी, पहिरो, डुबान, सर्पदंश, आगलागीलगायतका घटनामा दुई जनाको मृत्यु हुनुका साथै १५ जना घाइते भएका छन्।
प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार सर्पदंशका कारण दुई जनाको मृत्यु भएको हो। सर्पदंशबाट ११ जना घाइते भएका छन् भने यसबाट नौ जिल्ला प्रभावित भएका छन्। यस्तै, पहिरोका घटनामा दुई जना घाइते भएका छन् र ११ जिल्ला प्रभावित भएका छन्।
प्राधिकरणले सार्वजनिक गरेको दैनिक विपद् बुलेटिनअनुसार पछिल्लो २४ घण्टामा ११ वटा सडक अवरुद्ध भएका छन्। विभिन्न विपद्का घटनाबाट करिब १२ लाख २७ हजार रुपैयाँ बराबरको आर्थिक क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ। साथै, छ वटा चौपायाको पनि क्षति भएको छ।
तथ्याङ्कअनुसार सो अवधिमा १८ जिल्लामा २६ वटा पहिरो, १३ वटा सर्पदंश, आठ वटा आगलागी, सात वटा अविरल वर्षासम्बन्धी घटना, पाँच वटा जनावरको आक्रमण तथा तीन वटा बाढीका घटना भएका छन्। यी घटनाबाट ४७ जिल्ला प्रभावित भएका छन् भने उद्धार तथा प्रतिकार्यका लागि सुरक्षा निकायका २६७ जना जनशक्ति परिचालन गरिएको प्राधिकरणले जनाएको छ।
शनिबार र आइतबार देशका विभिन्न क्षेत्रमा भएको मध्यमदेखि अति भारी वर्षापछि बाढी, पहिरो र डुबानको जोखिम बढ्न सक्ने पूर्वानुमान गर्दै प्राधिकरणले प्रतिकार्यका लागि आवश्यक तयारीलाई थप तीव्र बनाएको जनाएको छ।


