काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले पुँजी बजार र धितोपत्र व्यवसायमा देखिएका समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।
सोमबार सिंहदरबारमा पुँजी बजार तथा धितोपत्र क्षेत्रसँग सम्बन्धित सरोकारवाला निकाय र प्रतिनिधिहरूसँग भएको छलफलमा प्रधानमन्त्री शाहले पुँजी बजारलाई थप व्यवस्थित, पारदर्शी र लगानीमैत्री बनाउन सरकारले आवश्यक पहल गरिरहेको बताए। सहभागीका अनुसार उनले लगानीकर्ताको विश्वास अभिवृद्धि गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सम्बन्धित निकायसँग समन्वय गरेर काम गरिरहेको जानकारी दिएका थिए।
प्रधानमन्त्रीले सेयर लगानीकर्तालाई त्रास नराखी निर्धक्क भएर लगानी गर्न आग्रह गर्दै बजार सुधारका लागि आवश्यक नीतिगत तथा संरचनागत सुधार अघि बढाइने विश्वास दिलाएका छन्।
छलफलका क्रममा सहभागीहरूले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को पुनर्संरचना गरी प्रविधिमैत्री बनाउने, दक्ष जनशक्ति व्यवस्थापन गर्ने तथा धितोपत्र बोर्डले १० कित्ते नीतिको पुनरावलोकन गरी योग्य संस्थागत लगानीकर्तामार्फत बुक बिल्डिङ प्रक्रियाबाट प्राथमिक शेयर (आईपीओ) निष्कासनको व्यवस्था गर्न सुझाव दिएका थिए।
बैठकमा स्टक ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष सागर ढकाल, नासा सेक्युरिटिजका सन्दीप जलान, नेप्सेका पूर्वप्रमुख कार्यकारी अधिकृत सीताराम थपलिया, नागरिक स्टक डिलर कम्पनीका प्रमुख कार्यकारी अधिकृत महेशलाल श्रेष्ठ, सेयर ब्रोकर प्रियराज रेग्मी, लगानीकर्ता अम्बिका प्रसाद पौडेल, धितोपत्र बोर्डका अध्यक्ष डा. गोपाल भट्ट तथा नेप्सेका अध्यक्ष अमृत लम्साललगायत सहभागी थिए।


