डा. देवेन्द्रराज पाण्डे लोकतन्त्रका सजग पहरेदार थिए : गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिक अगुवा डा. देवेन्द्रराज पाण्डेको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्। साथै उनले शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन्।

सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गर्दै थापाले नागरिक स्वतन्त्रता, समानता, मानव अधिकार र लोकतान्त्रिक चेतनाको पक्षमा जीवनभर निर्भीकतापूर्वक उभिएका डा. पाण्डेको निधनले राष्ट्रले एक प्रखर बौद्धिक व्यक्तित्व, नैतिक नेतृत्व र लोकतन्त्रका सजग पहरेदार गुमाएको बताएका छन्।

थापाका अनुसार नेपालको लोकतान्त्रिक आन्दोलनका निर्णायक मोडहरूमा डा. पाण्डेले नागरिक तहबाट संघर्षको समन्वय गर्दै निरंकुशताविरुद्ध दृढ आवाज उठाएका थिए। उनले नयाँ पुस्तालाई निरन्तर प्रेरित गर्दै लोकतान्त्रिक मूल्य र मान्यताको पक्षमा उल्लेखनीय योगदान पुर्‍याएको पनि थापाले उल्लेख गरेका छन्।

अर्थसचिव, अर्थमन्त्री, विकास चिन्तक तथा सुशासनका अभियन्ताका रूपमा डा. पाण्डेले नेपालको अर्थतन्त्र, सार्वजनिक प्रशासन र विकाससम्बन्धी बहसलाई नयाँ दृष्टिकोण दिएको थापाको भनाइ छ। सार्वजनिक जीवनमा उनले देखाएको इमानदारी, पारदर्शिता र नैतिक साहस भावी पुस्ताका लागि प्रेरणादायी विरासत बन्ने विश्वास पनि उनले व्यक्त गरेका छन्।

थापाले सामाजिक सद्भाव, समानता र राष्ट्रिय एकताको पक्षमा डा. पाण्डेको योगदान विशेष स्मरणीय रहेको उल्लेख गर्दै उनले जगाएको नागरिक चेतना र बौद्धिक सम्पदाले आगामी पुस्तालाई पनि सधैं मार्गदर्शन गरिरहने बताएका छन्।

नागरिक अगुवा तथा पूर्वमन्त्री डा. देवेन्द्रराज पाण्डेको शुक्रबार साँझ काठमाडौँको विशालनगरस्थित निवासमा ८७ वर्षको उमेरमा निधन भएको थियो। स्वास्थ्यमा समस्या देखिएपछि उनलाई पाटन अस्पताल लगिएको थियो भने उपचारपछि शुक्रबार नै निवास फर्काइएको थियो।

प्रकाशित: शनिबार, साउन ०२, २०८३

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय