खोटाङको लप्से खोलामा बेलिब्रिज जडान गरिने, १.६३ करोडको ठेक्का आह्वान

काठमाडौँ । मध्यपहाडी लोकमार्गअन्तर्गत खोटाङको लप्से (पंखु) खोलामा बेलिब्रिज सञ्चालन गर्ने तयारी सुरु भएको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ बुवासुङ र लामीडाँडालाई जोड्ने उक्त खोलामा बेलिब्रिज जडानका लागि पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना कार्यालय, रामेछापले असार ३२ गते ठेक्का आह्वान गरेको हो।

योजना कार्यालयका सूचना अधिकारी इन्जिनियर भरत श्रेष्ठका अनुसार पक्की पुल निर्माण अलपत्र परेपछि आवागमन सहज बनाउन अस्थायी रूपमा बेलिब्रिज जडान गर्न लागिएको हो। बेलिब्रिज जडानका लागि भ्याट र कन्टिन्जेन्सीबाहेक १ करोड ६३ लाख ६४ हजार ९३४ रुपैयाँको ठेक्का खुलाइएको छ।

उक्त स्थानमा १५ मिटर लामो पक्की पुल निर्माण २०७२ सालमा सुरु भई २०७३ असोजभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो। तर ठेकेदार कम्पनी सिरुवा कन्ट्रक्सन प्रालिको ढिलासुस्तीका कारण काम अघि नबढेपछि २०७९ सालमा ठेक्का रद्द गरिएको थियो।

पुल निर्माणको ठेक्का रद्द भएको तीन वर्ष बितिसक्दा पनि नयाँ ठेक्का प्रक्रिया अघि बढ्न नसकेपछि अहिले बेलिब्रिजमार्फत आवागमन सहज बनाउने योजना अघि सारिएको हो। निर्माण कम्पनीले खोलाका दुवै किनारमा पिलर ठड्याए पनि त्यसपछिको काम नगर्दा संरचना अलपत्र अवस्थामा रहेको छ।

लप्से खोलामा पुल नहुँदा वर्षायाममा पैदलयात्री, मालवाहक तथा यात्रुवाहक सवारी, एम्बुलेन्स र मोटरसाइकल लामो समयसम्म रोकिनुपर्ने अवस्था रहने गरेको छ। बाढी र पहिरोका कारण बेला–बेला सडक अवरुद्ध हुने गरेको छ। गत जेठ २७ गते आएको बाढी–पहिरोले सडक एक सातासम्म अवरुद्ध भएको थियो भने हाल ह्युमपाइपमार्फत सवारी सञ्चालन भइरहेको छ। जेठ २३ गते पनि बाढीले सडक बगाउँदा करिब नौ घण्टा यातायात सेवा ठप्प भएको थियो।

प्रकाशित: शनिबार, साउन ०२, २०८३

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय