भोजपुर, आषाढ १८ । टेम्केमैयुङ गाउँपालिकाको आयोजना तथा पदमार्गमा आधारित पर्यटन विकास परियोजनाको सहकार्यमा आतिथ्य व्यवस्थापन, सरसफाइ तथा दिगो पर्यटन व्यवस्थापनसम्बन्धी तीनदिने तालिम सम्पन्न भएको छ। मिति २०८३ साल आषाढ १६ गतेदेखि १८ गतेसम्म टेम्केमैयुङ गाउँपालिका–२, छिनामखुस्थित गोठेसिंह होमस्टेमा सञ्चालन गरिएको तालिममा मुन्दुम पदमार्ग ट्रेल क्षेत्रमा पर्ने षडानन्द नगरपालिका, टेम्केमैयुङ गाउँपालिका, भोजपुर नगरपालिका तथा खोटाङको साकेला गाउँपालिकाका २८ जना प्रतिनिधिको सहभागिता रहेको थियो।
तालिममा पर्यटन सेवाको गुणस्तर अभिवृद्धि, होमस्टे सञ्चालन, पाहुना सत्कार, खाद्य स्वच्छता, सरसफाइ तथा दिगो पर्यटन व्यवस्थापनका विषयमा सैद्धान्तिक र व्यावहारिक प्रशिक्षण प्रदान गरिएको थियो। तालिमका मुख्य प्रशिक्षक मोहन बहादुर गजुरेल तथा सहप्रशिक्षक प्रशान्त वडालले स्थानीय पर्यटनलाई आयआर्जनसँग जोड्न गुणस्तरीय सेवा, स्थानीय संस्कृति संरक्षण र पर्यावरणमैत्री पर्यटन अभ्यास आवश्यक रहेको बताउनुभयो।
तालिमको समापन कार्यक्रम टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष रमा देवी राई, वडा नं. ३, ८ र ९ का वडा अध्यक्षहरू, पदमार्गमा आधारित पर्यटन विकास परियोजनाकी सामाजिक सुरक्षा अधिकृत एवं कार्यक्रम संयोजक पार्वती राना लगायतको उपस्थिति रहेको थियो।
समापन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष बस्नेतले मुन्दुम पदमार्ग क्षेत्रको पर्यटन विकासका लागि स्थानीय समुदायको क्षमता अभिवृद्धि अपरिहार्य रहेको बताउनुभयो। उपाध्यक्ष राईले तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा लागू गरी होमस्टे तथा स्थानीय पर्यटन सेवाको स्तर उकास्न सहभागीहरूलाई आग्रह गर्नुभयो।
सहभागीहरूले तालिमबाट आतिथ्य सेवा, सरसफाइ तथा दिगो पर्यटन व्यवस्थापनसम्बन्धी व्यावहारिक ज्ञान प्राप्त भएको जनाउँदै आगामी दिनमा त्यसलाई व्यवहारमा उतार्ने प्रतिबद्धता व्यक्त गरेका छन्।








