काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले पछिल्लो समय विभिन्न कम्युनिस्ट दलबीच भइरहेको एकता र संयुक्त मोर्चा बनाउने प्रयासप्रति तीव्र टिप्पणी गरेका छन्।
सोमबार सामाजिक सञ्जाल फेसबुकमा धारणा सार्वजनिक गर्दै उनले पटक–पटक विभाजित भएका कम्युनिस्ट शक्तिलाई पुनः एकताबद्ध गर्ने प्रयासलाई ‘फुटेको हाँडी फेरि जोड्ने लालसायुक्त राग’को संज्ञा दिएका छन्।
बास्कोटाले यस्ता प्रयास नेतृत्वको असफलता ढाकछोप गर्ने र शक्ति जोगाइराख्ने उद्देश्यबाट प्रेरित भएको आरोप लगाएका छन्। देशमा ठूलो खतरा रहेको भाष्य निर्माण गरेर राजनीतिक उद्देश्य पूरा गर्न खोजिएको उनको भनाइ छ।
उनले वास्तविक सुधार र राजनीतिक शक्ति आर्जन गर्न चाहने हो भने विगतमा पार्टी फुटाउनु गल्ती भएको स्वीकार गर्नुपर्ने र नयाँ नेतृत्वलाई अघि बढ्ने अवसर दिनुपर्ने धारणा व्यक्त गरेका छन्।
फेसबुकमा उनले लेखेका छन्, “पटकपटक फुटेको हाँडी फेरि जोड्ने लालसायुक्त राग चलेछ। भयङ्कर खतरा देखाउँदै नेतृत्वबाट चलाइएको यो कथ्य रूपमा सुन्दर तर सारमा आफ्नो असफलता छोप्न र शक्तिमा टिक्न देखाइएको भुत्ते हतियार हो। सुधार र शक्ति आर्जन चाहेकै हो भने पहिला फुटाएर गल्ती भयो भन। आफू छोडेर सहकर्मीलाई अघि बढ भन्न सक्छौ ?”


