काठमाडौं । नेपाली कांग्रेसले आगामी १५औँ महाधिवेशनलाई लक्षित गर्दै नयाँ क्रियाशील सदस्यता वितरण अभियान सञ्चालन गर्न देशभरका ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ।
पार्टीले यसपटक सदस्यता वितरणमा विशेषगरी ३५ वर्षमुनिका युवाको अधिकतम सहभागिता सुनिश्चित गर्ने लक्ष्य राखेको जनाएको छ। कांग्रेस सदस्यता व्यवस्थापन केन्द्रीय समितिको निर्णयअनुसार अभियानलाई प्रभावकारी, व्यवस्थित र परिणाममुखी बनाउन प्रतिनिधि परिचालन गरिएको हो।
पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालद्वारा बुधबार जारी विज्ञप्तिअनुसार खटाइएका प्रतिनिधिहरूले असार ७ गतेदेखि २० गतेसम्म सम्बन्धित जिल्लामा रही सदस्यता वितरण अभियानको समन्वय, सहजीकरण तथा अनुगमन गर्नेछन्।
कांग्रेसले महाधिवेशनको तयारीस्वरूप सदस्यता विस्तार र संगठन सुदृढीकरणलाई प्राथमिकतामा राख्दै अभियान अघि बढाएको जनाएको छ।


