रास्वपामा गुटउपगुट नबनाउन रविको निर्देशन, ‘विवेकले चल्ने पार्टी बनाऔँ’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीभित्र गुटउपगुट निर्माण नगर्न आग्रह गर्दै त्यसले पार्टीलाई पुराना दलकै अवस्थामा पुर्‍याउने चेतावनी दिएका छन्।

चितवनमा जारी रास्वपाको पहिलो महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै उनले फरक परिणाम चाहिने हो भने फरक राजनीतिक संस्कार र अभ्यास आवश्यक रहेको बताए।

“हामीले पनि गुटउपगुट बनायौँ भने परिणाम पुराना पार्टीकै जस्तो हुन्छ। फरक नतिजा निकाल्न केही फरक गर्नैपर्छ,” उनले भने। ५२ लाख मतदाताले विवेक प्रयोग गरेर रास्वपालाई विश्वास गरेको उल्लेख गर्दै उनले पार्टीभित्र पनि त्यही विवेकको अभ्यास हुनुपर्ने बताए।

महाधिवेशन प्रतिनिधिहरूबाट संकलन गरिएको पाँच हजार रुपैयाँ ऐच्छिक रहेको स्पष्ट पार्दै उनले आवश्यक परे फिर्ता लिन सकिने जानकारी दिए। आर्थिक रूपमा सक्षम प्रतिनिधिहरूले अरू साथीहरूको शुल्कसमेत सहयोग गर्न सक्ने उनको सुझाव थियो।

महाधिवेशन निर्वाचनबारे बोल्दै लामिछानेले जसले जिते पनि पार्टीकै जित हुने विश्वास व्यक्त गरे। “निर्वाचनमा जसले जिते पनि घण्टीवाहक नै जित्छ। म कसैको पक्षमा छैन,” उनले भने। कसलाई मत दिने भन्ने निर्णय प्रतिनिधिहरूको विवेकमा छोडिनुपर्ने उनको धारणा थियो।

उनले सांसद वा मन्त्री भइसकेका व्यक्तिलाई उम्मेदवारी दिन नदिने चर्चा निराधार भएको स्पष्ट पार्दै पुराना र नयाँ सबै सदस्यलाई आफ्नो योग्यता र क्षमताअनुसार प्रतिस्पर्धा गर्ने अधिकार रहेको बताए।

रास्वपा ‘ह्विपभन्दा विवेकले चल्ने पार्टी’ भएको उल्लेख गर्दै उनले प्रतिनिधिहरूलाई स्वतन्त्र रूपमा नेतृत्व चयन गर्न आग्रह गरे। साथै, पार्टीभित्रका असन्तुष्टि, जिज्ञासा र मतभेदलाई आन्तरिक छलफलबाट समाधान गर्नुपर्नेमा जोड दिँदै त्यस्ता विषयलाई सार्वजनिक तमासा नबनाउन सचेत गराए।

लामिछानेले रास्वपाले स्वस्थ, स्वच्छ र विवादरहित महाधिवेशन सम्पन्न गरेर नयाँ राजनीतिक संस्कृतिको उदाहरण प्रस्तुत गर्नुपर्ने बताए। उनको उद्घाटन मन्तव्यसँगै बन्दसत्रका औपचारिक कार्यक्रम सुरु भएका छन् भने आजै निर्वाचन प्रक्रिया अघि बढाउने तयारी गरिएको छ।

प्रकाशित: मंगलबार, आषाढ ०९, २०८३

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय