काठमाडौं । बढ्दो गर्मीका कारण नेपालगन्ज उपमहानगरपालिकाले असार १० गतेदेखि १२ गतेसम्म तीन दिनका लागि क्षेत्रभित्रका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको छ।
विद्यार्थीलाई विद्यालय आउजाउ गर्न कठिनाइ हुनुका साथै स्वास्थ्यमा प्रतिकूल असर पर्ने जोखिम बढेकाले उक्त निर्णय गरिएको उपमहानगरपालिकाले जनाएको छ।
शिक्षा महाशाखा प्रमुख गोर्खबहादुर खत्रीका अनुसार जल तथा मौसम विज्ञान विभागलगायत सम्बन्धित निकायको सुझावका आधारमा विद्यालय तहका सम्पूर्ण पठनपाठन तीन दिनका लागि स्थगित गरिएको हो। गर्मीका कारण धेरै विद्यार्थीमा बेहोस हुने, टाउको दुख्ने लगायतका स्वास्थ्य समस्या देखिन थालेपछि विद्यालय बन्द गर्नुपरेको उनले बताए।
नेपालगन्ज उपमहानगरपालिकाभित्र ८२ संस्थागत, ४२ सामुदायिक र ३९ धार्मिक विद्यालय गरी कुल १६३ विद्यालय सञ्चालनमा छन्।
जल तथा मौसम विज्ञान कार्यालय, कोहलपुरका अनुसार मंगलबार नेपालगन्जको अधिकतम तापक्रम ४० डिग्री सेल्सियस र खजुराको ३९.६ डिग्री सेल्सियस रेकर्ड गरिएको छ। लगातार बढ्दो तापक्रमका कारण स्थानीय प्रशासनले नागरिकलाई आवश्यक सतर्कता अपनाउन पनि आग्रह गरेको छ।


