काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा सांसद राजेन्द्रकुमार राईले कोशी प्रदेशका आन्तरिक कानुनमन्त्री इन्द्रमणि पराजुलीको निवासमा प्रहरीले गरेको खानतलासीबारे सरकारको ध्यानाकर्षण गराएका छन्।
आकस्मिक समयमा बोल्दै उनले मन्त्री पराजुली सङ्खुवासभामा रहेका बेला बिहीबार राति १० बजे प्रहरीले क्वाटरमा विनाकारण खानतलासी गरेको दाबी गर्दै यसको कारणबारे सरकारसँग स्पष्ट जवाफ माग गरे।
त्यस्तै, सांसद आरेन राईले जेनजी आन्दोलनका क्रममा नयाँ बानेश्वरस्थित एक बैंकमा धितो राखिएको १८ तोला सुन चोरी भएको घटनाप्रति सरकारको ध्यानाकर्षण गराए। बैठकमा सभामुख डोलप्रसाद अर्यालले आकस्मिक समयमा गम्भीर प्रकृतिका विषयमा मात्र समय लिएर बोल्न सांसदहरूलाई आग्रह गरे।


