काठमाडौँ । विज्ञापन बोर्डले सामाजिक सञ्जालमार्फत आधारहीन तथा भ्रामक विज्ञापन प्रकाशन वा प्रसारण गर्ने व्यक्ति तथा संस्थामाथि कानुनअनुसार कारबाही गरिने चेतावनी दिएको छ।
बोर्डले बिहीबार सार्वजनिक सूचना जारी गर्दै प्रचलित कानुनले निषेध गरेका, आवश्यक लेबलिङ, ब्रान्डिङ र आधिकारिक प्रमाणीकरण नभएका औषधिजन्य पदार्थ तथा सामग्रीको विज्ञापन सामाजिक सञ्जालमा बढ्दो क्रममा रहेको भन्दै यस्ता गतिविधि तत्काल रोक्न निर्देशन दिएको हो।
बोर्डका प्रमुख प्रशासकीय अधिकृत देवी पाण्डे खत्रीका अनुसार विभिन्न औषधिजन्य सामग्रीको भ्रामक प्रचारप्रसारमार्फत सर्वसाधारणलाई भ्रममा पार्ने, आर्थिक ठगी गर्ने तथा जनस्वास्थ्यसँग सम्बन्धित आधारभूत मापदण्ड उल्लङ्घन हुने विषयमा उजुरीहरू प्राप्त भइरहेका छन्।
बोर्डले विशेषगरी कपाल उमार्ने, कपाल बाक्लो बनाउने, हड्डी तथा नसासम्बन्धी रोग निको पार्ने, तौल घटाउने, किड्नी सफा गर्ने तथा शरीरका विषाक्त पदार्थ हटाउने दाबी गरिएका सामग्रीको प्रचार सामाजिक सञ्जालमा व्यापक रूपमा भइरहेको जनाएको छ। यस्ता सामग्रीको प्रभावकारिताबारे वैज्ञानिक प्रमाण, आधिकारिक स्वीकृति वा आवश्यक प्रमाणीकरणबिना प्रचार गरिनु उपभोक्ताका लागि जोखिमपूर्ण रहेको बोर्डको भनाइ छ।
विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ को दफा ५ तथा अन्य प्रचलित कानुनविपरीत कुनै पनि विज्ञापन प्रकाशन वा प्रसारण नगर्न सम्बन्धित विज्ञापनदाता, एजेन्सी, उत्पादक, विक्रेता, डिजिटल प्लेटफर्म सञ्चालक तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई बोर्डले सचेत गराएको छ।
बोर्डले यस्ता विज्ञापनले उपभोक्ताको स्वास्थ्य, सुरक्षा र आर्थिक हितमा नकारात्मक असर पुर्याउने भएकाले कानुनविपरीतका गतिविधिमा संलग्न नहुन आग्रह गरेको छ। साथै, चिकित्सकको सिफारिसमा मात्र बिक्री वितरण गरिने औषधिको समेत भ्रामक विज्ञापन भइरहेको गुनासो प्राप्त भएको जनाएको छ।
भ्रामक विज्ञापन प्रकाशन वा प्रसारण भएको पाइएमा विज्ञापन बोर्डमा उजुरी दिन पनि बोर्डले सर्वसाधारणलाई अनुरोध गरेको छ। प्राप्त उजुरीका आधारमा आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइने जनाइएको छ।


