परराष्ट्रमन्त्री खनालद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले चिनियाँ लगानीकर्ताहरूलाई नेपालमा लगानी गरी ‘पार–हिमाली’ समृद्धिको नयाँ अध्याय निर्माणमा सहभागी हुन आह्वान गरेका छन्।

चीनको चारदिने औपचारिक भ्रमणका क्रममा उनले बेइजिङस्थित नेपाली दूतावासद्वारा आयोजित लगानी सम्मेलनलाई सम्बोधन गर्दै नेपालको आर्थिक सम्भावना, जनसाङ्ख्यिकीय सामर्थ्य र लगानीमैत्री वातावरणबारे जानकारी दिएका थिए। उनले लगानीका लागि अझ सक्षम र व्यवसायमैत्री वातावरण सुनिश्चित गर्न नेपाल सरकार प्रतिबद्ध रहेको बताए।

नेपालमा चिनियाँ लगानी प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित सम्मेलनमा मन्त्री खनालले चिनियाँ व्यवसायी, उद्यमी तथा लगानीकर्तासँग भेटवार्ता गरेका थिए। कार्यक्रममा नेपाल लगानी बोर्डका प्रतिनिधिले नेपालमा उपलब्ध लगानीका अवसरबारे प्रस्तुतीकरण दिएका थिए।

भ्रमणकै क्रममा मन्त्री खनालले चीनको चिनियाँ जनराजनीतिक परामर्श सम्मेलन (CPPCC) का राष्ट्रिय समितिका अध्यक्ष वाङ हुनिङसँग भेटवार्ता गरेका थिए। भेटमा नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने र आपसी हितका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको नेपाली दूतावासले जनाएको छ।

यसैगरी, उनले चिनियाँ तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका प्रतिनिधिसँग अन्तरक्रिया गर्दै नेपालको परराष्ट्र नीति, नेपाल–चीन सम्बन्ध, नवगठित सरकारका प्राथमिकता र अन्तर्राष्ट्रिय समुदायसँग नेपालको संलग्नताबारे धारणा राखेका थिए।

प्रकाशित: बुधबार, आषाढ ०३, २०८३

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय