काठमाडौँ । मानव चेतना, शारीरिक स्वास्थ्य र मानसिक शान्तिको आधार मानिएको योगलाई जनस्तरसम्म विस्तार गर्ने उद्देश्यसहित काठमाडौंको भुरुङखेलमा ‘पातञ्जल योगजागरण अभियान’ सुरु गरिएको छ।
आगामी जुन २१, २०२६ मा मनाइने अन्तर्राष्ट्रिय योग दिवसको पूर्वसन्ध्यामा काठमाडौं महानगरपालिका वडा नं. १८ को आयोजनामा ७ दिने निःशुल्क योग प्रशिक्षण शिविर सुरु गरिएको हो। कार्यक्रममा पातञ्जल योग समिति नेपाल, जिल्ला शाखा काठमाडौंले प्राविधिक सहयोग गरेको छ भने व्यवस्थापकीय सहकार्य आयाम नेपालले गरेको छ।
शिविरमा शारीरिक तन्दुरुस्ती, मानसिक शान्ति र आध्यात्मिक चेतनासम्बन्धी योग अभ्यासहरू समावेश गरिएको छ। स्थानीय जनप्रतिनिधि, वडाबासी तथा विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरूको उत्साहजनक सहभागिता रहेको आयोजकले जनाएको छ।
कार्यक्रमको अध्यक्षता गर्दै वडा नं. १८ की जनप्रतिनिधि रचना शर्माले आधुनिक जीवनशैलीका कारण बढ्दो स्वास्थ्य समस्यालाई सम्बोधन गर्न योग महत्वपूर्ण उपाय भएको बताइन्। उनले स्वस्थ नागरिक नै समृद्ध समाजको आधार हुने भन्दै योगलाई दैनिक जीवनको हिस्सा बनाउनुपर्नेमा जोड दिइन्।
पातञ्जल योग समिति नेपालका संरक्षक बालमुकुन्द सुवालले योगलाई केवल शारीरिक अभ्यास नभई जीवन जिउने वैज्ञानिक दर्शनका रूपमा लिनुपर्ने बताए। त्यस्तै राष्ट्रिय अध्यक्ष सुदर्शन सुवेदीले काठमाडौं महानगरको सक्रियता अभियान विस्तारका लागि प्रेरणादायी भएको उल्लेख गरे।
महासचिव नवराज काफ्लेले योगलाई देशभर टोल–टोलसम्म विस्तार गर्ने लक्ष्य रहेको बताए। प्रशिक्षण विभाग प्रमुख सुवर्णलाल चित्रकारले ७ दिनको शिविरमा प्राणायाम, ध्यान र विभिन्न रोग प्रतिरोधात्मक आसनहरू सिकाइने जानकारी दिए।
त्यसैगरी सूचना तथा सञ्चार विभाग प्रमुख युक्त गिरिले योगलाई आधुनिक प्रविधिमार्फत व्यापक रूपमा फैलाउने योजना रहेको बताए। कोशी प्रदेश अध्यक्ष केदार रिजालले योग अभियान संघीय संरचना अनुसार देशभर विस्तार भइरहेको उल्लेख गरे।
काठमाडौं जिल्ला शाखा अध्यक्ष अम्बिका खड्गीले शिविरलाई प्रभावकारी र परिणाममुखी बनाउन प्रशिक्षकसहित सक्रिय रूपमा काम गर्ने प्रतिबद्धता जनाइन्।
भुरुङखेलमा सुरु भएको यो अभियानले स्थानीय स्तरमा स्वास्थ्य, सन्तुलन र सकारात्मक ऊर्जा प्रवाह गर्ने अपेक्षा गरिएको छ।


