काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले हालसम्म चार प्रदेश र ६४ जिल्लामा अधिवेशन सम्पन्न भएको जनाएको छ।
पार्टीका अनुसार ६०९ पालिका तथा चार हजार ३६३ वडामा अधिवेशन सम्पन्न भइसकेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिवेशन सम्पन्न भएका छन् भने मधेस प्रदेशको अधिवेशन स्थगित गरिएको छ।
रास्वपाले कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिवेशन भने जारी रहेको जनाएको छ।
महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार कर्णालीका डोल्पा र हुम्ला, लुम्बिनीका रुकुमपूर्व, गण्डकीका मनाङ र मुस्ताङ तथा मधेसका धनुषा, सप्तरी, बारा र सर्लाहीमा अधिवेशन हुन बाँकी छ।
यस्तै, सिन्धुपाल्चोक, सिरहा, महोत्तरी र रौतहटमा अधिवेशन प्रक्रिया सुरु भए पनि विभिन्न कारणले स्थगित भएको उनले जानकारी दिए।
रास्वपाले आफ्नो प्रथम राष्ट्रिय महाधिवेशन असार ७, ८ र ९ गते चितवनमा आयोजना गर्ने तयारी तीव्र रूपमा अघि बढाइरहेको जनाएको छ।


