काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टी एकताबद्ध बनाउने कुरा यथास्थितिमा सम्भव नभएको बताएका छन् ।
आज एमाले प्रचार विभाग प्रमुख नीरज आचार्यको पदभार ग्रहण कार्यक्रममा बोल्दै महासचिव पोखरेलले नयाँ ढङ्गले अघि बढ्नुपर्छ भन्ने मान्यता अनुसार पार्टीलाई वैचारिक, राजनीतिक र संगठनात्मक रूपमा एकताबद्ध बनाउने बताएका हुन् ।
उनले भने, ‘पहिलो कुरा आम निर्वाचन २०८२ को समीक्षा गर्ने र पार्टीलाई पुनर्गठनको दिशामा कसरी अघि बढाउने भन्ने विषयमा पार्टी पंक्तिको भावनाको प्रतिनिधित्व गर्दै कार्यदलका तर्फबाट सुझाव संकलन गर्ने प्रक्रियामा छ’, ‘तर अहिले पार्टी कुनै निष्कर्षमा पुगेको छैन ।’ ‘एकताबद्ध बनाउने कुरा यथास्थितिमा सम्भव छैन । त्यसका लागि शुद्धीकरण, सुदृढीकरण र पुनर्जागरण आवश्यक छ’, पोखरेलले भने,‘ यी तिन वटै काम गर्न पुनर्गठनको योजना बनाउनुपर्छ त्यसका लागि बनाइएको कार्यदलले काम थालेको छ ।’
महासचिव पोखरेलले कार्यदलले पार्टी पुनर्जागरणका निम्ति काम गरिरहेकाले पार्टीमा कुनै मतमतान्तर नभएको दाबी समेत गरे ।


