काठमाडौं । नेकपा (एमाले)ले सरकारलाई गिरीबन्धु टी–इस्टेटको फाइल खोल्न चुनौती दिएको छ ।
आज प्रतिनिधिसभा बैठकमा एमालेकी उपनेता पद्मा अर्यालले विवादित भनिएका सबै फाइल खोल्न सरकारलाई चुनौती दिएकी हुन् ।
उनले भनिन्, “प्रतिपक्षीले बजेटका सम्बन्धमा राखेका सल्लाह, सुझाव प्रश्न गर्दैगर्दा अर्थमन्त्रीजीले जवाफ दिने क्रममा जे चिज बताउनुभयो, त्यो आपत्तिजनक छ । कसलाई लक्षित गर्नुभयो ? उहाँले फाइल खोल्ने धम्की दिनुभएको छ, म भन्न चाहन्छु– टी–इस्टेटको फाइल पहिलो नम्बरमा खोलियोस् । म आग्रह गर्न चाहन्छु– त्यसपछि विपक्षीसँग जोडिएका ओम्नी हुन् कि वाइडबडी हुन् कि केके फाइल हुन्, तपाईंहरूको हातमा छ, सरकारलाई भन्न चाहन्छु यो सदनमार्फत– ती खोलियोस् । साँचो कुरा के हो, त्यो बाहिर ल्याइयोस् । यद्यपि, आज लगाइरहेका आरोपहरू साबित भएनन् भने, छानबिनले सत्य ठहरिएनने भने मान्छेमा स्वाभिमानमाथि आँच आउने, गम्भीर आरोपहरू लगाउने अनि त्यसको जिम्मेवारी लिएर कठघरामा उभिने आँट उहाँले गर्नुहुन्छ कि गर्नु हुन्न ? “


