काठमाडौँ । आफूलाई ‘नेपाल प्रहरीको सीआईडी’ भन्दै एक महिलालाई अपहरण गरी सामूहिक बलात्कार गरेको आरोपमा फरार रहेका एक अभियुक्तलाई चितवन प्रहरीले आठ वर्षपछि पक्राउ गरेको छ।
पक्राउ पर्नेमा चितवनको कालिका नगरपालिका–७ निवासी सुमन दोङ उर्फ सुमन तामाङ रहेका छन्। इलाका प्रहरी कार्यालय रत्ननगर, टाँडीबाट खटिएको टोलीले उनलाई खोजतलासका क्रममा पक्राउ गरेको हो।
प्रहरीका अनुसार २०७५ असार ७ गते राति करिब २ बजे मोटरसाइकलमा आएका दुई जनाले एक महिलालाई आफूहरू ‘सीआईडी प्रहरी’ भएको परिचय दिँदै केही सोधपुछका लागि जानुपर्ने भन्दै नियन्त्रणमा लिएका थिए। उनीहरूले पीडितका नाबालक छोरालाई समेत साथमा राखी प्रहरी कार्यालय लैजाने बहानामा जंगलतर्फ लगेका थिए।
त्यहाँ पुर्याएपछि महिलामाथि जबर्जस्ती करणी गरिएको प्रहरीले जनाएको छ।
यस घटनामा संलग्न अर्का अभियुक्त पुटम थिङलाई यसअघि नै पक्राउ गरी अनुसन्धानपछि चितवन जिल्ला अदालतले अपहरण तथा जबर्जस्ती करणी मुद्दामा १९ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवानाको सजाय सुनाइसकेको छ।
घटनापछि फरार रहेका सुमन तामाङलाई जेठ २२ गते पक्राउ गरिएको हो। उनलाई चितवन जिल्ला अदालतमा उपस्थित गराइएकोमा अदालतको आदेशअनुसार पुर्पक्षका लागि कारागार चलान गरिएको प्रहरीले जनाएको छ।


