बजेटसम्बन्धी कुनै पनि छानबिन सामना गर्न तयार छु : अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट निर्माणका क्रममा भएका भनिएका त्रुटि तथा करका दर परिवर्तनबारे कुनै पनि छानबिनको सामना गर्न आफू तयार रहेको बताएका छन्।

सार्वजनिक लेखा समितिको बिहीबारको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले मानवीय वा प्राविधिक त्रुटिलाई नीतिगत भ्रष्टाचारका रूपमा व्याख्या नगर्न आग्रह गरे।

“यदि कसैलाई नियतमै शङ्का छ भने छानबिन समिति बनाएर अध्ययन गर्न सकिन्छ, म त्यसलाई पूर्ण रूपमा स्वागत गर्छु,” उनले भने, “मन्त्रालय र भन्सार प्रशासनको छवि कायम राख्न पनि यस्तो अध्ययन आवश्यक हुन सक्छ।”

मन्त्री वाग्लेले जेठ १५ गते प्रस्तुत गरिएको बजेटको अन्तिम मस्यौदा तयार पार्ने क्रममा कर्मचारीहरू रातभर जाग्राम बसेर बिहान ४–५ बजेसम्म काम गरेको उल्लेख गर्दै साना प्राविधिक त्रुटि हुन सक्ने बताए।

उनले गत वर्ष ७३ वटा करका दर परिवर्तन गरिएको स्मरण गराउँदै यस वर्ष भन्सारतर्फ एउटा मात्र दर र सुनमा केही समायोजन गरिएको स्पष्ट पारे।

विद्युतीय सवारीसाधन (ईभी) सम्बन्धी करबारे बोल्दै मन्त्री वाग्लेले ५० लाख रुपैयाँसम्मका गाडीलाई विलासी वस्तु नमानिएको र मध्यमवर्गीय उपभोक्ताको पहुँचलाई ध्यानमा राखेर नीति बनाइएको बताए। साथै, सडक निर्माण दस्तुर ५ प्रतिशतबाट घटाएर २.५ प्रतिशत कायम गरिएको जानकारी दिए।

बजेट सार्वजनिक हुनुअघि सवारीसाधन भन्सार पास गराउने गतिविधिलाई व्यापारिक जोखिमको विषय भन्दै त्यसमा अर्थ मन्त्रालयको कुनै संलग्नता नरहेको उनले दाबी गरे।

प्रकाशित: बिहिबार, जेठ २८, २०८३

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय