प्रतिनिधिसभामा बजेटमाथि सामान्य छलफल सुरु, अर्थमन्त्री वाग्लेले प्रस्ताव पेश गरे

काठमाडौँ । प्रतिनिधिसभामा आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सामान्य छलफल सुरु भएको छ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वक्तव्यसहित बजेटमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका हुन्।

सभामुख डोलप्रसाद अर्यालले बजेटमाथि हाल सैद्धान्तिक छलफल मात्र हुने र मन्त्रालयगत कार्यक्रम तथा योजनाबारे विनियोजन विधेयकमाथि विस्तृत छलफल गरिने जानकारी दिए। उनले यस छलफलका लागि चार घण्टाको समय निर्धारण गरिएको पनि बताए।

हाल सांसदहरूले बजेटका विभिन्न पक्षबारे आफ्नो धारणा राखिरहेका छन्। छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ अर्थमन्त्री वाग्लेले दिने कार्यसूची रहेको छ।

बैठकमा सभामुख अर्यालले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् हेरफेरसम्बन्धी तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्र सदनलाई सुनाएका थिए।

त्यसैगरी, कार्यव्यवस्था परामर्श समितिमा सदस्य मनोनयन तथा संसदीय विषयगत समितिहरूमा सदस्य हेरफेर गरिएको जानकारी पनि सभामुखले गराएका थिए, जसलाई सभाले अनुमोदन गरेको छ।

बैठकमा सभामुख अर्यालले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ राष्ट्रियसभाबाट संविधानले तोकेको अवधिभित्र फिर्ता नआएको विषयमा पनि सदनलाई जानकारी गराएका छन्।

प्रकाशित: बुधबार, जेठ २७, २०८३

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय