काठमाडौँ । अमेरिकी एयरलाइन्सहरूले पछिल्ला महिनामा इन्धन लागतमा उल्लेख्य वृद्धि भएको जनाएको छ। अप्रिल महिनामा मात्रै इन्धन खर्च करिब ६ अर्ब ५० करोड अमेरिकी डलर पुगेको उल्लेख छ भने जुन महिनामा यो लागत २६ प्रतिशतभन्दा बढी र वार्षिक रूपमा ७८ प्रतिशतसम्म बढेको बताइएको छ।
अमेरिकी ब्युरो अफ ट्रान्सपोर्टेसन स्ट्याटिस्टिक्स (BTS) का अनुसार मध्यपूर्वमा जारी द्वन्द्वले पछिल्ला १०० दिनमा ऊर्जा बजारमा दबाब बढाएको हो, जसको प्रत्यक्ष असर उड्डयन क्षेत्रको खर्चमा परेको छ।
यसैबीच, इन्टरनेसनल एयर ट्रान्सपोर्ट एसोसिएसन (IATA) ले सार्वजनिक गरेको रिपोर्टमा यस वर्ष एयरलाइन्स उद्योगको शुद्ध नाफा २३ अर्ब डलर हुने अपेक्षा गरिएको भए पनि यो अघिल्लो अनुमानभन्दा करिब १८ अर्ब डलर कम हो।
रिपोर्ट अनुसार प्रति यात्रु नाफा पनि घट्दै २०२५ मा ९.१० डलरबाट यस वर्ष करिब ४.५० डलरमा झर्ने अनुमान गरिएको छ।
आईएटीएका महानिर्देशक विली वाल्शले इरानसँग सम्बन्धित द्वन्द्व र बढ्दो इन्धन लागतले एयरलाइन्स उद्योगको भविष्यमा थप दबाब सिर्जना गरेको बताएका छन्।
उच्च इन्धन लागतका कारण अमेरिकी स्पिरिट एयरलाइन्सले मे महिनाको सुरुवातमै आफ्नो सेवा सञ्चालन बन्द गरेको समेत रिपोर्टमा उल्लेख छ।


