अफ्रिकास्थित नेपाली दूतावास कटौतीको तयारीप्रति फिने अफ्रिकाको आपत्ति

अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ (फिने) अफ्रिकाले अफ्रिकी मुलुकहरूमा रहेका नेपाली दूतावासहरूको संख्या कटौती वा पुनर्संरचना गर्ने सरकारको तयारीप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ।

फिने अफ्रिकाका क्षेत्रीय अध्यक्ष रामप्रसाद पाध्याले जेठ २३ गते जारी गरेको विज्ञप्तिमा दूतावासहरू बन्द वा सीमित गर्दा अफ्रिकामा रहेका नेपाली नागरिक, व्यवसायी, विद्यार्थी तथा श्रमिकहरू प्रत्यक्ष प्रभावित हुने बताएका छन्। उनले दूतावासहरूले कूटनीतिक सम्बन्ध विस्तारसँगै व्यापार सहजीकरण, लगानी प्रवर्द्धन, कानुनी सहायता र नेपाली समुदायलाई आवश्यक सेवा प्रदान गर्दै आएको उल्लेख गरेका छन्।

विज्ञप्तिअनुसार अफ्रिकामा रहेका नेपाली दूतावासहरूले आफू अवस्थित मुलुक मात्र नभई छिमेकी तथा अन्य राष्ट्रहरू समेत गरी २३ वटा अफ्रिकी मुलुकलाई कूटनीतिक तथा कन्सुलर सेवा प्रदान गर्दै आएका छन्। यस्तो अवस्थामा दूतावासहरूको संख्या घटाउँदा हजारौं नेपाली नागरिक र व्यवसायीहरू आवश्यक सेवाबाट टाढिन सक्ने चिन्ता व्यक्त गरिएको छ।

फिने अफ्रिकाले अफ्रिकामा नेपालको कूटनीतिक उपस्थिति कमजोर बनाउने निर्णयले व्यापारिक सम्बन्ध, लगानीका अवसर र अन्तर्राष्ट्रिय कूटनीतिक प्रभावमा नकारात्मक असर पार्न सक्ने जनाएको छ। साथै, कन्सुलर सेवा प्राप्त गर्न नेपालीहरूले थप समय, खर्च र प्रशासनिक झन्झट बेहोर्नुपर्ने अवस्था सिर्जना हुन सक्ने चेतावनी दिइएको छ।

संस्थाले नेपाल सरकार र परराष्ट्र मन्त्रालयलाई कुनै पनि अन्तिम निर्णयअघि दीर्घकालीन प्रभावको अध्ययन गर्न, विदेशस्थित नेपाली समुदाय तथा व्यवसायिक क्षेत्रसँग परामर्श गर्न र आवश्यक कूटनीतिक पहुँच कायम राख्दै खर्च व्यवस्थापनका वैकल्पिक उपायहरू खोज्न आग्रह गरेको छ।

अध्यक्ष पाध्याले अफ्रिकामा नेपाली दूतावासहरूको उपस्थिति नागरिकको सुरक्षा, आर्थिक हित तथा नेपालको अन्तर्राष्ट्रिय छवि सुदृढीकरणका लागि महत्वपूर्ण रहेको बताए।

हाल संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा कार्यरत अधिकांश नेपाली शान्ति सैनिक अफ्रिकी मुलुकहरूमा खटिएका छन्। साथै अध्ययन, तालिम, रोजगारी र व्यवसायका लागि अफ्रिका पुग्ने नेपालीहरूको संख्या पछिल्ला वर्षहरूमा निरन्तर बढ्दै गएको छ।

करिब दुई दशकदेखि अफ्रिकामा सक्रिय रहेका पाध्याले अफ्रिकामा नेपालीहरूको बढ्दो उपस्थिति र प्रभावले नेपालको अन्तर्राष्ट्रिय छविलाई थप बलियो बनाएको उल्लेख गरेका छन्।

प्रकाशित: सोमबार, जेठ २५, २०८३

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय