निजगढमा ७ दिने घरबास (होमस्टे) व्यवस्थापन तथा आतिथ्य सेवा तालिम सम्पन्न

निजगढ । निजगढ नगरपालिका र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा सञ्चालित ७ दिने घरबास (होमस्टे) व्यवस्थापन तथा आतिथ्य सेवा तालिम सफलतापूर्वक सम्पन्न भएको छ। जेठ १३ गते उद्घाटन भई जेठ १९ गते समापन भएको उक्त तालिम निजगढ नगरपालिका वडा नं. ४ मा अवस्थित बाघ भैरव सामुदायिक वन उपभोक्ता समितिको सभाहलमा सञ्चालन गरिएको थियो।

तालिममा निजगढ नगरपालिका भित्रका वडा नं. ४, ७ र ११ का कछडिया (थारू) तथा माझी समुदायका ७० जना सहभागी भएका थिए। स्थानीय समुदायमा पर्यटन तथा होमस्टे सञ्चालन सम्बन्धी ज्ञान, सीप र क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको तालिमको उद्घाटन नगर कार्यपालिका उपप्रमुख सोममाया थिङको प्रमुख आतिथ्यतामा तथा प्रमुख प्रशासकीय अधिकृत प्रसाद गौतमको विशेष आतिथ्यतामा सम्पन्न भएको थियो।

तालिममा मुख्य प्रशिक्षक मोहन बहादुर गजुरेल, पाक प्रशिक्षक नकुल धिताल तथा कछडिया र माझी समुदायका अनुसन्धानकर्ता डा. उद्दव पुरीले सहजीकरण गर्नुभएको थियो। तालिम अवधिभर नेपालमा पर्यटनको अवस्था, होमस्टेमा पर्यटक आकर्षणका उपाय, होमस्टे सञ्चालन कार्यविधि, आतिथ्य सेवा, वेटर सेवा, हाउसकिपिङ, सरसफाइ व्यवस्थापन, बगैंचा तथा फूलबारीको महत्त्व, रैथाने खानपानको संरक्षण तथा प्रवर्द्धन लगायत विषयमा सैद्धान्तिक र प्रयोगात्मक कक्षा सञ्चालन गरिएको थियो।

विशेषगरी सहभागीहरूले आफ्नो समुदायको पहिचान झल्कने ७० भन्दा बढी स्थानीय तथा परम्परागत परिकारहरू तयार गरी प्रदर्शन गरेका थिए। तालिमका क्रममा प्रशिक्षक मोहन बहादुर गजुरेलले चार वटा सामुदायिक होमस्टे गठन प्रक्रियामा सहजीकरण गर्नुका साथै रैथाने खानपान तथा सांस्कृतिक पर्यटन प्रवर्द्धनका विषयमा प्रशिक्षण दिनुभएको थियो।

तालिमको समापन समारोहमा नगर प्रमुख सुरथ पुरी प्रमुख अतिथि, उपप्रमुख सोममाया थिङ विशेष अतिथि तथा प्रमुख प्रशासकीय अधिकृत प्रसाद गौतम लगायत विभिन्न वडाका अध्यक्षहरू, संघसंस्थाका प्रतिनिधिहरू तथा स्थानीय समुदायका अगुवाहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा वक्ताहरूले निजगढ क्षेत्रको प्राकृतिक, सांस्कृतिक तथा परम्परागत सम्पदालाई पर्यटनसँग जोडेर आर्थिक समृद्धि हासिल गर्न होमस्टे कार्यक्रम प्रभावकारी माध्यम बन्न सक्ने धारणा व्यक्त गरेका थिए।

सहभागीहरूले तालिमबाट प्राप्त ज्ञान तथा सीपलाई व्यवहारमा उतार्दै आफ्नो समुदायमा गुणस्तरीय होमस्टे सेवा सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। आयोजकले यस तालिमले निजगढ नगरपालिकामा सामुदायिक पर्यटन विकास तथा स्थानीय संस्कृति र रैथाने खानाको संरक्षणमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेको छ।

तालिमका सहभागिहरू आ-आफ्नो जातिय पहिचान झल्काउने गहरगहना र लुगाकपडामा सहभागी भएका थिए ।

 

प्रकाशित: शुक्रबार, जेठ २२, २०८३

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय