काठमाडाैं । प्रतिनिधिसभा सदस्य एवं राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले अत्यधिक लगानी र उच्च प्रविधि आवश्यक पर्ने भएकाले नेपालले धेरै सङ्ख्यामा फरेन्सिक (विधि विज्ञान) प्रयोगशाला स्थापना गर्न नसक्ने बताएका छन्।
आज सङ्घीय संसद् प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक’ सम्बन्धी छलफलमा सहभागी हुँदै उनले प्रदेश–प्रदेशमा ल्याब स्थापना गर्ने सोच आर्थिक रूपमा व्यावहारिक नभएको स्पष्ट पारे।
उनका अनुसार फरेन्सिक ल्याबका उपकरण अत्यन्त महँगा हुने र अन्तर्राष्ट्रिय मान्यता (आईएसओ प्रमाणपत्र) प्राप्त गर्न ठूलो स्रोत–साधन आवश्यक पर्छ। आईएसओ बिना विदेशमा गरिएका परीक्षणको मान्यता नहुने भएकाले गुणस्तरीय एकीकृत प्रणाली आवश्यक रहेको उनले बताए।
पुनले धेरै स्थानमा साना–साना ल्याब खोल्नुको सट्टा एक मात्र अत्याधुनिक फरेन्सिक प्रयोगशाला स्थापना गरी त्यसलाई स्तरीय बनाउनुपर्ने धारणा राखे।


