काठमाडाैं । नेपाल संयुक्त राष्ट्रसंघीय महासभा (यूएनजीए) को ८१औँ अधिवेशनअन्तर्गत प्रथम समिति (निःशस्त्रीकरण तथा अन्तर्राष्ट्रिय सुरक्षा) को अध्यक्षमा निर्वाचित भएको छ। यसलाई नेपालको कूटनीतिक क्षेत्रमा महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।
बहुपक्षीयता, अन्तर्राष्ट्रिय शान्ति, सुरक्षा तथा विश्वव्यापी निःशस्त्रीकरणप्रति नेपालले सात दशकभन्दा लामो समयदेखि देखाउँदै आएको प्रतिबद्धताको अन्तर्राष्ट्रिय मान्यतास्वरूप यो जिम्मेवारी प्राप्त भएको बताइएको छ।
प्रथम समितिको अध्यक्षमा निर्वाचित भएपछि संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि राजदूत लोकबहादुर थापाले सदस्य राष्ट्रहरूले नेपालमाथि देखाएको विश्वास र समर्थनप्रति आभार व्यक्त गरेका छन्।
न्युयोर्कस्थित नेपालको स्थायी नियोगका अनुसार राजदूत थापाले उक्त जिम्मेवारी निष्पक्षता, पारदर्शिता र समावेशिताका आधारमा प्रभावकारी रूपमा निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन्।
संयुक्त राष्ट्रसंघीय महासभाको प्रथम समितिले निःशस्त्रीकरण, अन्तर्राष्ट्रिय सुरक्षा तथा विश्व शान्तिसम्बन्धी विषयमा छलफल, नीति निर्माण तथा निर्णय प्रक्रियामा महत्वपूर्ण भूमिका खेल्दै आएको छ। नेपालको यो निर्वाचनले अन्तर्राष्ट्रिय मञ्चमा देशको उपस्थिति र विश्वसनीयता थप सुदृढ भएको संकेत गरेको छ।


