काठमाडाैं । विपक्षी दलहरूको अवरोधका कारण प्रतिनिधिसभाको बैठक सोमबारसम्मका लागि स्थगित भएको छ।
सभामुख डोलप्रसाद अर्यालले बैठक सोमबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरेका हुन्। विपक्षी सांसदहरूले बैठक सुरु भएलगत्तै बेल घेराउ गरेपछि कार्यसूचीमा प्रवेश हुन सकेन।
नेपाली कांग्रेस, नेकपा एमाले, नेपाल कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले संयुक्त रूपमा विरोध जनाउँदै बेल घेराउ गरेका थिए।
विपक्षी दलहरूले जेठ १७ गते प्रतिनिधिसभामा आयोजित सांसदहरूसँगको प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री बालेन्द्र शाहले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्। प्रधानमन्त्रीले उक्त कार्यक्रममा नेपालले भारतको सीमा मिचेको भन्ने आशयको अभिव्यक्ति दिएको भन्दै विपक्षी दलहरूले त्यसबारे संसद्मा स्पष्टिकरण र माफी माग्नुपर्ने माग राखेका छन्।


