काठमाडौँ । मुस्ताङका पाँचमध्ये चार स्थानीय तहका उच्च लेकमा यार्सागुम्बा सङ्कलन सुरु भएको छ।
राष्ट्रिय प्रकृति संरक्षण कोष अन्तर्गत अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोम र लोमान्थाङ कार्यक्षेत्रभित्र पर्ने उच्च लेक, खर्क र पाटनहरूमा यार्सागुम्बा सङ्कलन भइरहेको हो। समुद्री सतहदेखि चार हजार मिटरभन्दा माथिका क्षेत्रमा पाइने यो बहुमूल्य औषधीय जडीबुटी सङ्कलनका लागि स्थानीय तथा बाहिरी जिल्लाका व्यक्तिहरू सम्बन्धित संरक्षण क्षेत्र व्यवस्थापन समितिबाट अनुमति लिएर उच्च लेकतर्फ प्रस्थान गरेका छन्।
एक्याप जोमसोमका प्राकृतिक स्रोत संरक्षण सहायक दीपक ओलीका अनुसार यार्सागुम्बा सङ्कलनका लागि तोकिएको शुल्क तिरेर अनुमति पत्र (पुर्जी) लिई सङ्कलन गर्नुपर्ने व्यवस्था छ। विभिन्न समितिले एक्याप कार्यालयबाट पूर्वअनुमति लिएपछि मात्र सङ्कलन खुला गरिने प्रावधान रहेको उनले बताए।
मुस्ताङको थासाङ, घरपझोङ, वारागुङ मुक्तिक्षेत्र र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका उच्च लेकहरूमा सङ्कलन सुरु भइसकेको छ। थासाङ गाउँपालिकाका केही क्षेत्रमा वैशाख २ गतेदेखि नै यार्सागुम्बा सङ्कलन खुला गरिएको जनाइएको छ।


