काठमाडौँ । काठमाडौँको गोकर्णेश्वर नगरपालिकाका विभिन्न वडामा ‘हाइली प्याथोजेनिक एभियन इन्फ्लुएन्जा’ (बर्ड फ्लु) पुष्टि भएपछि नगरपालिकाले उच्च सतर्कता अपनाउन सार्वजनिक अपिल गरेको छ।
नगरपालिकाले सूचना जारी गर्दै वडा नं. २, ३ र ४ मा बर्ड फ्लु देखिएको पुष्टि गर्दै उक्त क्षेत्रमा रहेका पन्छी तथा पन्छीजन्य वस्तु नष्ट गरी संक्रमण नियन्त्रणको काम तीव्र रूपमा अघि बढाइएको जनाएको छ।
सूचना अनुसार संक्रमित क्षेत्रमा रहेका हाँस, कुखुरा, बट्टाई, लौकाटलगायतका पन्छी, अण्डा र दाना सुरक्षित रूपमा नष्ट गरी खाल्डोमा गाड्ने तथा प्रभावित क्षेत्रलाई निसंक्रमण गर्ने कार्य भइरहेको छ।
संक्रमण फैलिन नदिन नगरपालिकाले पन्छी फार्ममा अनावश्यक व्यक्ति तथा सवारीसाधनको प्रवेशमा रोक लगाएको छ। आवश्यक परे प्रवेश गर्दा अनिवार्य रूपमा निसंक्रमण गर्नुपर्ने व्यवस्था गरिएको छ।
त्यस्तै, एक फार्ममा काम गर्ने व्यक्ति अर्को फार्ममा नजान, प्रयोग भइसकेका अण्डा राख्ने क्रेट पुनः प्रयोग नगर्न र फार्मको ढोकामा चुना वा निसंक्रामक औषधि अनिवार्य रूपमा प्रयोग गर्न नगरपालिकाले निर्देशन दिएको छ।


