काठमाडौँ । ललितपुर महानगरपालिका–१५ ज्ञाननगर टोलमा जिपको ठक्करबाट ८ वर्षीया बालिकाको मृत्यु भएको छ।
जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार सर्लाही घर भई ललितपुर हात्तिवन बस्दै आएकी अनिरुद्र प्रसाद साहकी छोरी रोशनी साहको मृत्यु भएको हो।
शनिबार दिउँसो करिब साढे ३ बजे बाटो काट्ने क्रममा प्र.०१–०३३ च ८७८० नम्बरको जिपले उनलाई ठक्कर दिएको थियो। गम्भीर घाइते बालिकालाई बी एण्ड बी अस्पताल लगिएकोमा साँझ करिब ७ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।
जिप चालक मकवानपुर हेटौंडा–४ का २१ वर्षीय रोशन श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई सवारी ज्यान मुद्दामा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।


