काठमाडौँ । अविरल वर्षापछि आएको पहिरोले घर बगाउँदा पाँचथरको याङवरक गाउँपालिका–१ मा चार परिवार विस्थापित भएका छन् ।
पहिरोका कारण लम्बाखोलाका मोहनलाल खवास र कबिर खवास तथा कोप्चेका गङ्गाप्रसाद बेघाको घर बगेपछि उनीहरू विस्थापित भएका हुन् । मोहनलाल र कबिरको परिवारका सात जना आफन्त शान्ता खवासको घरमा आश्रय लिइरहेका छन् भने गङ्गाप्रसादको ६ सदस्यीय परिवार दाजु दुर्गा बेघाको घरमा बसेको छ ।
त्यस्तै, भगीमान बेघाको घर पनि पहिरोको उच्च जोखिममा परेपछि उनको परिवारलाई सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ ।
बाढी र पहिरोका कारण याङवरकका विभिन्न बस्तीका दर्जनौँ घर जोखिममा परेका छन् । साथै, लामिटार–चाम्लिङ डाँडा जोड्ने झोलुङ्गे पुल र याङवरक–२ दोभानेस्थित अर्को झोलुङ्गे पुलमा पनि क्षति पुगेको छ ।
बाढीले पुष्पलाल (मध्यपहाडी) राजमार्गअन्तर्गत मेवा खोलामा निर्माणाधीन सडक पुल बगाएको छ । पुलसँगै सडक र डाइभर्सन बग्दा यातायात पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
त्यसैगरी, तमोर करिडोर सडकअन्तर्गत निर्माणाधीन लिम्बूनी पुलका संरचनासमेत बाढीले बगाएको छ ।
याङवरक–२ मेवाखोलास्थित हरिहृदुलय मेवाखोला जलविद्युत् आयोजनामा समेत बाढीपहिरोले क्षति पुर्याएको जनाइएको छ ।


