काठमाडौँ । नेकपा (एमाले) ले विभागीय प्रमुख, प्रदेश इन्चार्ज तथा विभिन्न फाँटहरूको जिम्मेवारी बाँडफाँटसम्बन्धी प्रस्तावित सूची तयार गर्दै नेताहरूको वरीयताक्रमसमेत निर्धारण गरेको छ।
सोमबार बसेको केन्द्रीय सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तावित नामावली प्रस्तुत गरेका थिए। उक्त सूचीमाथि शुक्रबार बस्ने सचिवालय बैठकमा छलफल गरी अन्तिम निर्णय गरिने जनाइएको छ।
पार्टीको एघारौँ राष्ट्रिय महाधिवेशनपछि पदाधिकारीहरूको वरीयता निर्धारण नभएको अवस्थामा अहिले प्रस्तावित सूचीले शीर्ष नेताहरूको क्रमसमेत तय गरेको छ। प्रस्तावअनुसार अध्यक्ष ओलीपछि उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ दोस्रो स्थानमा रहेका छन्।
त्यसपछि उपाध्यक्षहरू विष्णुप्रसाद पौडेल, पृथ्वीसुब्बा गुरुङ, गोकर्ण विष्ट र रघुजी पन्त रहेका छन् भने महासचिवमा शंकर पोखरेल छन्। उपमहासचिवहरूमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई तथा सचिवमा छविलाल विश्वकर्मासहित अन्य नेताहरू समावेश छन्।
प्रस्तावमा विभिन्न विभागीय जिम्मेवारी पनि बाँडफाँट गरिएको छ। उपाध्यक्ष बादललाई सुशासन तथा सेवा प्रवाहसम्बन्धी विभाग, पौडेललाई पार्टीसम्बद्ध विभाग, गुरुङलाई सामाजिक विकास, विष्टलाई पूर्वाधार विकास र पन्तलाई मानवस्रोतसम्बन्धी विभागको जिम्मेवारी प्रस्ताव गरिएको छ।
महासचिव पोखरेललाई संगठनात्मक काम र केन्द्रीय कार्यालय प्रमुखको जिम्मेवारी दिने प्रस्ताव छ। त्यस्तै विभिन्न उपमहासचिव र सचिवहरूलाई नीति, कृषि, संसदीय मामिला, प्रदेश इन्चार्ज तथा अन्य विभागीय जिम्मेवारी तोकिएको छ।
प्रस्तावित सूचीअनुसार धेरै नेताहरूलाई प्रदेश इन्चार्ज, विभाग प्रमुख तथा फाँट इन्चार्जको जिम्मेवारी तोकिएको छ। सचिव पद्मा अर्यालले यो सूची प्रस्ताव मात्र भएको र अन्तिम निर्णय शुक्रबारको बैठकले गर्ने बताएकी छिन्।
त्यसैगरी, उपाध्यक्ष बादलको नेतृत्वमा पछिल्ला निर्वाचनको समीक्षा गर्न कार्यदल गठन गर्ने प्रस्ताव पनि अघि सारिएको छ। महासचिव शंकर पोखरेलको नेतृत्वमा केन्द्रीय कार्यालय कमिटी गठन गर्ने प्रस्तावसमेत बैठकमा प्रस्तुत गरिएको छ।
शुक्रबार बस्ने सचिवालय बैठकले यी सबै प्रस्तावमाथि छलफल गरी अन्तिम निर्णय गर्ने जनाइएको छ।


