काठमाडौँ । हालैका वर्षहरूमा जलवायु परिवर्तनका असरहरू तीव्र रूपमा बढ्दै गएको देखिएको छ । बेलायतमा अहिलेसम्मकै उच्च तापक्रम, विनाशकारी बाढी र लामो खडेरीजस्ता चरम मौसमी घटनाहरू लगातार बढिरहेका छन् । विज्ञहरूका अनुसार यस्ता घटनाहरू अब असामान्य नभई नियमितजस्तै बन्दै गएका छन् ।
सन् १८८४ देखि तापक्रम अभिलेख राख्न सुरु भएयता बेलायतका सबैभन्दा तातो पाँच वर्षमध्ये चार वर्ष पछिल्ला पाँच वर्षमै परेका छन् । साथै, सबैभन्दा तातो १० वर्ष सबै पछिल्ला दुई दशकभित्रका रहेका छन्, जसले जलवायु परिवर्तन तीव्र भइरहेको संकेत दिएको वैज्ञानिकहरूको भनाइ छ ।
जलवायु परिवर्तन समितिले आफ्नो प्रतिवेदनमा केवल तापक्रम वृद्धि रोक्ने प्रयास मात्र पर्याप्त नहुने उल्लेख गर्दै अब प्रभावसँग जुध्न पूर्वतयारीलाई पनि उत्तिकै प्राथमिकता दिनुपर्ने सुझाव दिएको छ ।
सन् २०१५ को पेरिस जलवायु सम्झौताअनुसार विश्वले तापक्रम वृद्धिलाई २ डिग्री सेल्सियसभन्दा कममा सीमित गर्ने र सम्भव भएसम्म १.५ डिग्रीभित्र राख्ने लक्ष्य लिएको थियो । तर हरितगृह ग्यास उत्सर्जन बढ्दै जाँदा यो लक्ष्य हासिल गर्न चुनौतीपूर्ण बन्दै गएको विज्ञहरूको भनाइ छ ।
समितिले कार्यस्थलमा अधिकतम तापक्रम सीमा तोक्ने कानुनी व्यवस्था गर्न, अत्यधिक गर्मीबाट जोगिन शीतलन उपकरण विस्तार गर्न, बाढी नियन्त्रणका संरचना निर्माण गर्न तथा पानी अभाव रोक्न जलाशय निर्माणमा लगानी बढाउन सुझाव दिएको छ ।
हाल बेलायतमा कार्यस्थलभित्र अधिकतम तापक्रमसम्बन्धी स्पष्ट कानुनी प्रावधान छैन । समितिले स्पेनको उदाहरण दिँदै त्यहाँ कार्यालयको तापक्रम २७ डिग्री सेल्सियसभन्दा माथि जान नपाउने नियम रहेको उल्लेख गरेको छ ।
प्रतिवेदनले जलवायु संकटसँग जुध्न सरकारलाई अझ महत्वाकांक्षी नीति आवश्यक रहेको बताउँदै आवश्यक पूर्वाधार, बाढी नियन्त्रण, पानी व्यवस्थापन र ताप नियन्त्रण प्रणाली विस्तारका लागि वार्षिक करिब ११ अर्ब पाउन्ड लगानी आवश्यक पर्ने अनुमान पनि गरेको छ ।
बेलायतले सन् १९९० को तुलनामा सन् २०३५ सम्म हरितगृह ग्यास उत्सर्जन कम्तीमा ८१ प्रतिशतले घटाउने र शताब्दीको मध्यसम्ममा कार्बन तटस्थ बन्ने लक्ष्य लिएको छ । विज्ञहरूले समयमै प्रभावकारी कदम नचालिए भविष्यमा अझ गम्भीर जलवायु संकट आउन सक्ने चेतावनी दिएका छन् ।


