काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारलाई संसदप्रति जिम्मेवार बनाउन आफ्नो पार्टीले निरन्तर दबाब दिइरहेको बताएका छन् । प्रतिनिधिसभामा पर्चा देखाएर गरिएको विरोध आगामी दिनमा पनि जारी रहने उनले स्पष्ट पारे ।
बुधबारको प्रतिनिधिसभा बैठकमा पनि श्रम संस्कृति पार्टीका सांसदहरूले पर्चा प्रदर्शन गर्दै सरकारविरुद्ध विरोध जनाएका थिए । त्यसक्रममा सभामुखले संसदको मर्यादा कायम राख्न चेतावनी दिएका थिए ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै साम्पाङले सरकार जवाफदेही नबन्दासम्म आफूहरू पछि नहट्ने बताए । “जबसम्म सरकार जिम्मेवार हुँदैन, हाम्रो विरोध जारी रहन्छ । आवश्यक परे पाँच वर्षसम्म पनि आन्दोलन चल्छ,” उनले भने ।
सुकुमबासी समस्या, लिपुलेक विवाद र विदेशी ऋणका विषयमा आफूहरूले उठाएका प्रश्नको जवाफ मन्त्रीहरूले नदिएको उनको गुनासो छ । “हामीले बारम्बार प्रश्न गरिरहेका छौँ, तर मन्त्रीहरू उपस्थित हुँदैनन् । दबाबपछि मात्रै केही मन्त्री संसदमा आउनुभएको हो,” साम्पाङले बताए ।


