स्वदेशमै रोजगारी सिर्जना सरकारको प्राथमिकता : मन्त्री यादव

काठमाडाैं । युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले स्वदेशमै पर्याप्त रोजगारी सिर्जना गरी युवालाई देशभित्रै अवसर उपलब्ध गराउनु सरकारको प्रमुख प्राथमिकता रहेको बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै मन्त्री यादवले वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउनुका साथै देशमै रोजगारीको विकल्प विस्तार गर्ने विषयमा मन्त्रालय पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट पारे ।

उनले सीपयुक्त जनशक्ति उत्पादनका लागि विभिन्न रोजगारमूलक तालिम सञ्चालन गर्न सम्बन्धित निकायहरूसँग निरन्तर छलफल भइरहेको जानकारी दिए । साथै, वैदेशिक रोजगारसम्बन्धी ४० हजारभन्दा बढी ठगीका उजुरीहरू समयसीमा तोकेर फछ्र्यौट गरिने र आगामी साउनदेखि सेवाहरू अनलाइन प्रणालीमार्फत सञ्चालन गरिने घोषणा गरे ।

मन्त्री यादवले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकको सुरक्षा सरकारको उच्च प्राथमिकतामा रहेको उल्लेख गर्दै विदेशमा घाइते, उपचाररत तथा उद्धारको पर्खाइमा रहेका श्रमिकका लागि राहत र उद्धार कार्यलाई सरकारले गम्भीरतापूर्वक अघि बढाइरहेको बताए ।

प्रकाशित: बुधबार, जेठ ०६, २०८३

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय