सहकारी पीडितलाई राहत : चक्रीय कोषमा सरकारले थप २५ करोड दिने तयारी

काठमाडाैं । सरकारले समस्याग्रस्त सहकारी संस्थाका सदस्यहरूको बचत फिर्ता गर्न स्थापना गरिएको चक्रीय कोषमा थप २५ करोड रुपैयाँ उपलब्ध गराउने तयारी गरेको छ।

चालु आर्थिक वर्षको बजेटमार्फत यसअघि २५ करोड रुपैयाँ विनियोजन गरिएकोमा अब थप २५ करोड रुपैयाँ थपिने भएपछि कोषमा सरकारको कुल योगदान ५० करोड रुपैयाँ पुग्नेछ।

सरकारले समस्याग्रस्त सहकारी संस्थाका पीडित बचतकर्ताको रकम फिर्ताका लागि चक्रीय कोष स्थापना तथा सञ्चालनसम्बन्धी कार्यविधि, २०८३ लागू गरिसकेको छ। उक्त कोषमा सरकारको रकमसँगै समस्याग्रस्त सहकारीका ऋणीहरूको सम्पत्ति बिक्रीबाट प्राप्त रकम समेत जम्मा गरिनेछ, जसबाट बचतकर्तालाई रकम फिर्ता गरिने व्यवस्था छ। बचत फिर्ता प्रक्रिया सोमबारदेखि सुरु भइसकेको छ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रियसभामा बोल्दै सहकारी क्षेत्रको समस्या दीर्घकालीन रूपमा समाधान गर्ने सरकारको प्रतिबद्धता दोहोर्याए। उनले कोषमा राखिएको रकम राज्यकोषबाट स्थायी वितरणका रूपमा नभई सहजीकरणका लागि मात्र भएको स्पष्ट पारे।

उनका अनुसार सहकारीकै सम्पत्ति बिक्रीबाट आएको रकमलाई चक्रीय कोषमा राखेर त्यहीँबाट पीडित बचतकर्ताको रकम फिर्ता गर्ने प्रक्रिया अघि बढाइएको हो।

प्रकाशित: मंगलबार, जेठ ०५, २०८३

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय