ऊर्जा मन्त्रालयको गुनासो व्यवस्थापन प्रणाली प्रभावकारी, १० हजारभन्दा बढी उजुरी समाधानतर्फ

काठमाडाैं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनगुनासो सुन्ने मात्र नभई तत्काल समाधानसम्म पुर्‍याउने अभ्यासलाई तीव्र बनाएको छ । मन्त्री विराज भक्त श्रेष्ठले पदभार सम्हालेलगत्तै सुरु गरिएको ‘गुनासो सुन्ने र तुरुन्त सम्बोधन गर्ने’ कार्यशैलीपछि मन्त्रालय र मातहतका निकायहरू सक्रिय भएका छन् ।

विद्युत् सेवासम्बन्धी हटलाइन ११५१ लाई २४ घण्टा सञ्चालनमा राख्दै समस्या समाधानको प्रत्यक्ष संयन्त्रका रूपमा विकास गरिएको मन्त्रालयले जनाएको छ । फोन, ह्वाट्सएप, इमेल तथा हेलो सरकारमार्फत आएका गुनासोहरू तत्काल सम्बन्धित निकायसँग समन्वय गरी समाधान गर्ने प्रणाली अपनाइएको छ ।

मन्त्रालयका अनुसार चैत १५ यता मात्रै १० हजार ३९२ भन्दा बढी गुनासो प्राप्त भएका छन्, जसमध्ये अधिकांश विद्युत् सेवासँग सम्बन्धित छन् । विद्युतीय दुर्घटना, लाइन अवरुद्ध, ट्रान्सफर्मर बिग्रिने, कम भोल्टेज, मिटर समस्या तथा प्रसारण लाइनका अवरोध मुख्य गुनासो रहेका छन् ।

कतिपय समस्यामा तत्कालै समाधान गरिएको पनि मन्त्रालयले जनाएको छ । बाँकेको चिसापानीमा प्रसारण लाइनका टावर ढलेपछि विद्युत् आपूर्ति प्रभावित हुँदा तत्काल समन्वय गरी सेवा पुनः सञ्चालन गरिएको थियो । स्याङ्जाको वालिङ र भीरकोट क्षेत्रमा चट्याङका कारण अवरुद्ध सेवा ६५ घण्टापछि पुनः सञ्चालन गरिएको थियो ।

मन्त्रालयले अपनाएको यो प्रणालीले सेवा प्रवाहमा सुधार ल्याउँदै जनतामा सरकारप्रतिको भरोसा बढाएको अपेक्षा गरिएको छ ।

प्रकाशित: सोमबार, जेठ ०४, २०८३

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय